कोभिडपछि लयमा फर्किंदै पार्टी प्यालेस व्यवसाय, थप उद्योग आउँदै



काठमाडौं । कोभिडपछि देशभरका पार्टी प्यालेसमा पुनः तंग्रिन थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दुई वर्षसम्म व्यवसाय ठप्प भएको पार्टी प्यालेस व्यवसाय यो वर्षदेखि व्यापार हुनेमा आशावादी बनेका छन् ।

कोभिड-१९ का कारण गत वर्ष र अघिल्लो वर्ष पार्टी प्यालेसको व्यापार हुन सकेको थिएन । जसले गर्दा देशभरका करिब ५० प्रतिशत पार्टी प्यालेस व्यवसायी विस्थापन भएका थिए ।

तर, यो वर्षको शुरुवातीदेखि पार्टी प्यालेस व्यवसायले गति लिन थालेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघले जनाएको छ ।

विश्वभर कोभिड-१९ को संक्रमण कम हुँदै गएकाले पनि यस क्षेत्रका व्यवसायी थप उत्साहित भएका छन् । साथै, यो वर्षको शुरुवातीदेखि नै चुनावको माहोल भएकाले व्यवसाय सञ्चालनमा सकारात्मक देखिएको महासंघले जनाएको छ ।

त्यस्तै, देशभर अहिले आगामी प्रतिनिधि सभा र राष्ट्रियसभाका लागि मानिसहरूको दौडधुप गरिरहेका छन् । सोही अवधिमा नेपाली महिलाहरूको महान चाडपर्व तीज नजिकिँदै गर्दा पार्टी प्यालेस तथा क्याटरिङ भरिभराउ हुन थालेको महासंघका अध्यक्ष लिलाबहादुर जिसी बताउँछन् ।

उनकाअनुसार कोभिड–१९ का कारण २ वर्षसम्म ठप्प भएको व्यवसाय अहिले विस्तारै तंग्रिदै गएको छ ।

‘गत वर्ष र अघिल्लो वर्ष यो समयका देशभरका पार्टी प्यालेस तथा क्याटरिङ खाली खाली अवस्थामा थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘यो वर्ष भने कोरोना कम हुँदा पार्टी प्यालेस तथा क्याटरिङ पनि भरिभराउ देखिन थालेको छ ।’

गत वर्ष कोभिडकै कारण नेपाली महिलाहरूको महान पर्व तीजको बेला खुलेर पार्टी गर्न सकेका थिएन । तर, यो वर्ष तीजको लागि पनि धेरैभन्दा धेरै बुकिङ भएको उनको भनाइ छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय सिजनअनुसार व्यापार हुने गर्छ । त्यसमा तीजको माहोलले पनि पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरूलाई भ्याइनभ्याई अवस्था पुर्याउँछन । तर, यो वर्ष कोभिडअघिको जस्तो बुक हुन नसकेपनि कोभिडपछिको माहोलले व्यवसायलाई थप उर्जा प्रदान गरेको उनले बताए ।

कोरोनाअघि देशभर ७ हजार बढी पार्टी प्यालेस तथा क्याटरिङ थिए । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय महासंघमा औपचारिक रुपमा आबद्ध भएको व्यवसायीहरू मात्रै ७ हजार बढी थिए भने अनौपचारिकरुपमा पनि धेरै व्यवसाय सञ्चालन गरिरहेका थिए ।

उक्त क्षेत्रमा ७ हजार बढी व्यवसायी आबद्ध हुँदा प्रत्यक्षरुपमा ५० हजार जनाले रोजगारी पाएका थिए । पहिलो चरणको लकडाउनका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्दा करिब ३० प्रतिशत व्यवसाय विस्थापन हुन पुगेको थिए भने गत वर्षसम्ममा ५० प्रतिशत पुगेको महासंघले जनाएको छ । देशभरका ५० प्रतिशत व्यवसायी विस्थापन भएपनि यो वर्षदेखि पुनः सञ्चालनका लागि तयारी भइरहेको उनको भनाइ छ ।

कोरोनाको असर नदेखिए मंसिरसम्ममा पूर्ण लयमा फर्किन सक्ने

यो वर्ष शुरुदेखि नै चुनावको माहोलले भरिभराउ हुन थालेको पार्टी प्यालेस व्यवसायमा आगामी मंसिरसम्म पनि यही अवस्था कायम रहे पूर्णरुपमा लयमा फर्किन सक्ने व्यवसायीहरूको भनाइ छ ।

अहिले तीज, साधारण सभालगायत चुनावको घोषणा गर्ने तयारी अवस्थामा रहेकाले पनि पार्टी प्यालेस व्यवसायले गति लिन थालेको छ । साथै, आगामी मंसिरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनाव हुने गरी सरकारले तयारी गरेको छ । सो अवधिमा कोरोनाको असर नदेखिए कोरोनाअघिकै लयमा व्यवसाय सञ्चालन हुन सक्ने अध्यक्ष जिसीको भनाइ छ ।

त्यस्तै, पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको पिक समय भनेको मंसिरबाट शुरु हुने गर्छ । मंसिरमा विहेलगायत अन्य विभिन्न कार्यक्रम हुने भएकाले मंसिरबाट पूर्ण सञ्चालनमा आउन सक्नेमा व्यवसायीहरू विश्वस्त छन् ।

थप नयाँ उद्योग सञ्चालन आउँदै

कोभिडले गर्दा करिब ५० प्रतिशत व्यवसायीहरू विस्थापन भएका पार्टी प्यालेस क्षेत्रमा अहिले नयाँ-नयाँ उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको महासंघले जनाएको छ । महासंघअनुसार अहिले देशभरका विभिन्न क्षेत्रमा पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालनका लागि नयाँ-नयाँ व्यवसायी थप हुँदै गएको छ ।

‘यो वर्ष विभिन्न क्षेत्रमा सानादेखि ठूला लगानीमा विभिन्न क्षेत्रमा पार्टी प्यालेस तथा क्याटरिङ खुल्न थालेको छ । जुन सकारात्मक हो,’ उनले भने ।

महासंघसँग देशभर कति क्याटरिङ खुल्दैछ भन्ने यकिन तथ्याङ्क नभएपनि विभिन्न क्षेत्रमा सुविधासम्पन्न पार्टी प्यालेस खोल्ने क्रम बढ्दै गएको जनाएको छ ।


क्लिकमान्डु