१६५ निर्वाचन क्षेत्रको अवस्थाबारे प्रतिवेदन दिन कार्यदललाई गठबन्धनको निर्देशन



काठमाडौं । सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रहरुको अवस्थाको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरी विस्तृत प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने बताए । ‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने निर्देशन भएको छ । र, आज हामी ४ बजे कार्यदलको बैठक बसेर आज शीर्षस्थ नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले समग्र रुपमा छलफल गरेर प्रतिवेदन नेतृत्वलाई बुझाउने आज निर्णय भएको छ । अब कार्यदललाई आधार तयार गरेर अहिलेको परिस्थितिमा १६५ निर्वाचन क्षेत्रको अवस्था के–कस्तो छ, त्यसको बारेमा विस्तृत प्रतिवेदन बनाएर पेस गर्ने निर्देशन कार्यदललाई प्राप्त भएको छ’ उनले भने ।

मंसिर ४ का लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेका सत्तारुढ दलहरुले सिट बाँडफाँटको प्रयास गरिरहेका भए पनि टुंगो भने लाग्न सकेको छैन ।


क्लिकमान्डु