महाअभियोग समितिले चोलेन्द्रलाई बयानका लागि बोलायो
काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बयानका लागि बोलाएको छ ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई भदौ १५ गते ११ बजे बयानका लागि बोलाउने निर्णय गरेको समितिका सभापति रामबहादुर बिष्टले जानकारी दिए ।
‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो’ बैठकपछि उनले भने ।
बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरेको उनले बताए ।
सत्तारुढ दलका ९८ सांसदले गत फागुनमा जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमाथि छानबिन गर्न संसद्मा ११ सदस्यीय सर्वदलीय समिति बनाइएको थियो ।