कुर्था-जयनगर रेल मर्मतको व्यवस्था तत्काल मिलाउन सरकारलाई समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरु सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद्‌‌ प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या नदोहोरिने गरी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरेर मात्रै स्तरोन्नतिको काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी सो राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।

समितिले सो राजमार्ग निर्माण गर्दा वातावरणमैत्री, प्रविधिमैत्री र वन्यजन्तुमैत्री तथा गुणस्तरीय बनाउने कार्यको सुनिश्चितताको लागि यसको डिजाइन तथा डीपीआर निर्माण गर्दाकै अवस्थामा ध्यान पुर्‍याउन सरकारलाई भनेको छ ।

‘नेपालको सबैभन्दा पुरानो तथा राष्ट्रिय महत्वको पूर्व–पश्चिम राजमार्गको सडक तथा पुलहरु जीर्ण भइ यातायात संचालनमा कठिनाइ भइरहेकाले हाल चार लेनमा स्तरोन्नति गर्ने गरी निर्माणको कार्य अगाडि बढाईरहँदा निर्मानाधिन नारायणघाट–बुटवलको निर्माणमा देखिएका कमीकमजोरी नदोहोरिनेगरी गर्न निर्देशन जारी भएको छ’ समितिकी सभापति खड्काले भनिन् ।

समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म संचालनमा ल्याइएको रेल सेवालाई सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ । सो रेल सेवामा विभिन्न समस्या देखिएकाले ती समस्याहरु हल हुने गरी रेलका लागि आवश्यक मर्मत तथा इन्धन सेन्टरको समेत तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिइएको खड्काले जानकारी दिइन् ।

समितिले विद्युतीय रेल सेवा संचालनका लागि विद्युतीय संरचना निर्माणको कामलाई अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


क्लिकमान्डु