जथाभावी फोहर फाल्नेलाई महानगरले कारबाही गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सीसी क्यामराको सहयोगमा कारबाही गर्ने बताएका छन् ।

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सीसी टीभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए ।

विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सीसी टीभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए ।

नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सीसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सीसी क्यामरा चाहिने जनाएको छ ।

प्रमुख शाहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिए ।

उनले पार्किङको लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताए ।


क्लिकमान्डु