कमजोर अर्थतन्त्र भएका देश चीनको ऋण पासोमा पर्दैछन्: बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा



एजेन्सी । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमलले हालै एक अन्तर्वार्ता दिए । जसमा उनले छिमेकी चीनको चर्को आलोचना गरेका थिए ।

पछिल्ला दिनमा चीन नजिक रहेको ठानिएको बंगलादेशको शेख हसिना नेतृत्वको सरकारका एक वरिष्ठ मन्त्रीले चीनको नीतिविरुद्ध दिएको भनाइले यतिबेला विश्व राजनीतिमा एक खालको तरंग उत्पन्न गरेको छ ।

बंगलादेशी अर्थमन्त्रीले चीनको महत्वाकांक्षी’बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत् विकासशील देशहरूले थप ऋण लिनुअघि दुईपटक सोच्न चेतावनी दिएका थिए ।

विश्वभर बढेको मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरका कारण ऋणमा डुबेका उदीयमान बजारहरु असहाय रहेको उनको भनाइ थियो ।

मुस्तफा कमलले चीनको शर्तै शर्तका कारण धेरै देश समस्यामा फसेकाले उसले ऋणको मूल्यांकनमा अझ इमान्दारिता देखाउनुपर्ने बताएका थिए ।

दक्षिण एशियाको अर्को देश श्रीलंकाको उदाहरण दिँदै उनले चिनियाँ लगानीका पूर्वाधार आयोजनाले राजस्वसमेत उठाउन नसकेकाले त्यहाँको आर्थिक संकट बढेको बताएका थिए ।

फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा मुस्तफा कमलले भने, ‘विश्वभरको वर्तमान अवस्थामा सबैले चिनियाँ परियोजनाका बारेमा दुई पटक सोच्नेछन् । सबैले चीनलाई दोष दिइरहेका छन् । यसमा चीन असहमत हुन सक्दैन । यो उसको जिम्मेवारी हो ।’

बंगलादेशका अर्थमन्त्रीको यो अन्तर्वार्तामा कडा टिप्पणी आउन थालेपछि उनको सचिवालयका तर्फबाट एक स्पष्टीकरण पनि प्रकाशित गरिएको थियो ।

अर्थमन्त्रीका निजी सचिव गाजी तौहिदुल इस्लामले १२ अगस्टमा फाइनान्सियल टाइम्सलाई एउटा पत्र पठाएका थिए जसमा लेखिएको थियो, ‘हामी बंगलादेशको अर्थतन्त्रका बारेमा तपाईंहरुले प्रकाशित गर्नुभएको रिपोर्टको सम्मान गर्छौं । तर, तपाईंको शीर्षक ‘चीनको बीआरआई ऋणबारे बंगलादेशका अर्थमन्त्रीको चेतावनीले अर्थमन्त्रीको वास्तविक भनाइ झल्काउँदैन ।’

बंगलादेशका अर्थमन्त्रीले अगस्ट ९ मा फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले सोमबार मात्रै चिनियाँ विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई सोध्यो, ‘बंगलादेशका अर्थमन्त्रीले पत्र पठाएर आफ्नो अडान स्पष्ट गरेका छन् । फाइनान्सियल टाइम्सले उक्त रिपोर्टलाई ट्विस्ट गरेको थियो । मुस्तफा कमलले अरु देशबाट ऋण लिँदा कुनै पनि देशले दुईपटक सोच्नुपर्ने बताएका छन् । यो चीनलाई निशाना बनाउने विषय हो वा होइन । यो सम्पूर्ण विवादमा तपाईंको प्रतिक्रिया के छ ?’

यस प्रश्नको जवाफमा वाङ वेनबिनले भने, ‘मैले यो प्रतिवेदन हेरेको छु । बंगलादेशका अर्थमन्त्रीलाई गलत उद्धृत गरिएको छ । यसले बंगलादेश र चीनबीच आपसी विश्वास रहेको देखाउँछ । म फेरि पनि भन्न चाहन्छु, सबैभन्दा ठूलो विकासोन्मुख देशको हैसियतमा चीन सबै विकासोन्मुख देशहरूसँग उभिएको छ । चीनको बीआरआईबाट सबै विकासशील देश लाभान्वित भएका छन् ।’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘विदेशी ऋण बढेको भनिएको देशमा चीनको ऋण कम छ भने अन्तर्राष्ट्रिय पुँजीबजार र पश्चिमा मुलुकको प्रभुत्वमा रहेका वित्तीय संस्थाको ऋण बढी छ ।’

गत वर्ष सेप्टेम्बरमा, बंगलादेशको अर्थ मन्त्रालयले २०२१ को लागि विदेशी ऋणको तथ्यांक सार्वजनिक गरेको थियो । बंगलादेशको कुल ऋणको ५९ प्रतिशत बराबरको हिस्सामा चीनको ७ प्रतिशत मात्रै छ । विश्व बैंक र एसियाली विकास बैंकको बढी छ ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘कथित चिनियाँ ऋणको जाल विकासोन्मुख देशहरूमा पारस्परिक रूपमा लाभदायक परियोजनालाई हानी पुर्‍याउनका लागि जानाजानी निर्माण गरिएको कथा हो ।धेरै विकासशील देशहरूले बीआरआई परियोजनालाई स्वीकार गरेका छन् ।’

बंगलादेशका विदेशमन्त्रीले श्रीलंका संकटले चीन आफ्ना परियोजनाहरूमा धेरै कडा नभएको देखाएको छ । उनले आयोजनाका लागि ऋण दिनुअघि चीनले अध्ययन गर्नुपर्ने बताए ।

मुस्तफा कमलले भनेका थिए, ‘श्रीलंकापछि हामीले यो कुरा धेरै महत्तवपूर्ण भए पनि चिनियाँ प्रशासनले गम्भीरतापूर्वक लिएको छैन भन्ने महसुस गरिरहेका छौं ।’

विदेशी मुद्रा सञ्चिति घट्ने चुनौती सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋण माग गरेका एसियाका देशहरूमा बंगलादेश पनि सामेल भएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेसँगै तेलको मूल्य बढेपछि बंगलादेशमा मुद्रास्फीति बढेको हो । बंगलादेशमा आयातको मात्रा बढेको छ । फाइनान्सियल टाइम्सले आफ्नो रिपोर्टमा लेखेको छ,‘बंगलादेश चीनको बीआरआई परियोजनामा संलग्न छ र यसअन्तर्गत ४ अर्ब डलर ऋण लिएको छ । यो बंगलादेशको कुल विदेशी ऋणको ६ प्रतिशत हो ।’

बंगलादेशका विदेशमन्त्रीले आईएमएफसँग ४.५ अर्ब डलरको प्याकेज मागेको बताएका छन् । तर, यो प्याकेजको बारेमा भने अझै छलफल हुन सकेको छैन । यसबाहेक बंगलादेशले विश्व बैंक, एशियाली विकास बैंक, एसियाली पूर्वाधार बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगसँग पनि ४ अर्ब डलर ऋण मागेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अगस्ट ७ मा बंगलादेशको भ्रमण गरेका थिए । बंगलादेशका अर्थमन्त्रीको यो टिप्पणी यस भ्रमणपछि आएको हो । वाङ यीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई पनि भेटेका थिए।

चिनियाँ विदेशमन्त्रीले बंगलादेशलाई सबैभन्दा भरपर्दो र पुरानो रणनीतिक साझेदार भनेका छन् । चिनियाँ विदेशमन्त्रीले दुई देशले पूर्वाधारमा सहकार्य गर्न सहमत भएको बताएका थिए ।

यस वर्षको मे महिनामा श्रीलंका आर्थिक रुपमा टाट पल्टेको थियो । श्रीलंकाले पनि ऋणका लागि आईएमएफसँग कुरा गरिरहेको छ । अर्कोतर्फ पाकिस्तानको विदेशी मुद्रा सञ्चिति पनि खाली हुँदै गइरहेको छ । त्यहाँको सञ्चितिले डेढ महिनाको आयात मात्रै धान्न सक्ने अवस्था छ ।

तेलको मूल्य बढेसँगै बंगलादेशको आयात बिल पनि बढेको छ । बंगलादेशको विदेशी मुद्रा सञ्चिति ४० अर्ब डलरभन्दा कममा झरेको छ । बंगलादेशको विदेशी मुद्रा सञ्चिति गत वर्ष ४५ अर्ब डलर थियो ।

तर, बंगलादेशले कपडा निर्यात गरेर आफूलाई बचाउने विश्लेषकहरू बताउँछन् ।

बंगलादेशसँग पाँच महिनाभन्दा बढीको आयात गर्न सक्ने विदेशी मुद्रा भण्डार छ । मुस्तफा कमलले फाइनान्सियल टाइम्सलाई बंगलादेश श्रीलंकाजस्तो टाट नपल्टने बताएका थिए ।

आईएमएफका अनुसार २०२१ मा बंगलादेशमा कुल विदेशी ऋण ६२ अर्ब डलर थियो । बंगलादेशमा जापानको सबैभन्दा बढी विदेशी ऋण छ । जापानले बंगलादेशलाई ९ अर्ब डलर ऋण दिएको छ । यो बंगलादेशमा रहेको कुल ऋणको १५ प्रतिशत बराबर हो ।


क्लिकमान्डु