थप केही हिमालमा आरोहण खुला गर्ने तयारी भइरहेको छः पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले प्रयोगमा नआएका नयाँ हिमालमा आरोहण खुला गर्ने बताएका छन् ।

आइतबार नेपाल पर्वतारोहण संघको ३२औं साधरण सभामा सम्बोधन गर्दै उनले सरकारले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालहरुमा पर्वतारोहणका लागि अनुमति दिने तयारी गरेको बताए ।

‘कुन–कुन हिमालमा आरोहण गर्न सकिन्छ र कुन हिमालमा आरोहण खुल्ला गर्दा पर्यटन आगमन बढ्छ त्यसलाई समीक्षा गरेपछि मात्रै हिमाल आरोहणका लागि अनुमति दिइनेछ,’ उनले भने ।

मन्त्री श्रेष्ठले पर्वतारोहण सम्बन्धी अन्योलमा रहेका ऐन, कानून र नियमहरु सरकार तत्काल निराकरण गर्न तयार रहेको समेत बताए । उनले सरकारले विगतमा एक वर्षका लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब एक वर्षको भ्रमण वर्ष भई २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताए ।

मन्त्री श्रेष्ठले नेपाल विश्वको पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उनले नेपालका हिमाल, पहाड, प्राकृतिक खालका उचाइमा पर्यटन खेलकुदको विकास गर्नु आवश्यक रहेको बताए ।

मन्त्री श्रेष्ठले एडभेञ्चर खुलकुद, पर्यटन वेस खेलकुद र माउण्टेन खेलकुदका रुपमा पर्वतहरुलाई आधार बनाएर खेलहरुको विकास गर्न सके नेपाल पर्यटक गन्तव्यको रुपमा विकास हुने बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसगँ सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत् लिने नीति लिनुपर्ने बताए । उनले साहसिक खेलहरु हिमचुली खुला गर्ने नीति आवश्यकता रहेको बताए । अध्यक्ष शेर्पाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग समेत गरे ।

अध्यक्ष शेर्पाले विश्वविख्यात पर्वतारोहीको लागि विमानस्थलबाटै सहज वातावरणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।


क्लिकमान्डु