१३ वटा स्टीलजन्य कम्पनीले गरे एक वर्षमा साढे ८५ अर्बको व्यापार, जगदम्बा एक्लैको हिस्सा ३५%



काठमाडौं । सन् २०२१ मा १३ वटा स्टीलजन्य उद्योगहरुले साढे ८५ अर्बको व्यापार गरेका छन् ।

कम्पनीहरुको रेटिङअनुसार १३ वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले सन् २०२१ मा ८५ अर्ब ३६ करोड ६२ लाख रुपैयाँको व्यापार गरेका छन् ।

यी कम्पनीहरुले विभिन्न ब्रान्डमा डण्डी, स्टीलका पाइप, तार, जस्तापाता लगायत सामग्री उत्पादन गर्दै आएका छन् ।

जसमा लक्ष्मी स्टील, सिद्धी लक्ष्मी स्टील, आरती स्ट्रिप्स, श्री कृष्ण स्टील, नारायणी स्पात, नारायणी रोलिङ मिल, विजयश्री स्टील, पायोनिर वायर्स, मैनावमती स्टील, एमएस हाइटेक स्टील, पञ्चकन्या स्टील, अशोक स्टील र जगदम्बा स्टील छन् ।

१३ वटा कम्पनीमध्ये जगदम्बा स्टीलले सबैभन्दा बढी व्यापार गर्न सफल भएको छ । कम्पनीले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । जुन १३ वटा कम्पनीले गरेको कुल व्यापारमध्ये ३४.६२ प्रतिशत हो ।

कुन कम्पनीको कति व्यापार ?

लक्ष्मी स्टील
लक्ष्मी स्टीलले सन् २०२१ मा ६ अर्ब ९ करोड ५६ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ८० करोड ७३ लाख र सन् २०१९ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, स्टील क्षेत्रमा सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित लक्ष्मी स्टीलले सन् २०२२ को १० महिनाको अवधिमै ६ अर्ब ४३ करोड २८ लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ ।

कम्पनीले सन् २००८ देखि लक्ष्मी स्टील ब्रान्डमा टीएमटी बार (डण्डी), वायर र बाइन्डिङ वायर उत्पादन गर्दै आएको छ ।

साथै, कम्पनीले भारतबाट प्राइमेरी स्टीलको रुपमा आइरन बिलेट आयात गर्दै आएको छ । कम्पनीले अधिकांश आम्दानी डण्डीबाट हुने गरेको जनाएको छ ।

सौरभ ग्रुपद्वारा सञ्चालित यस कम्पनीमा न्यौपाने परिवार र अग्रवाल परिवारको स्वामित्व छ । सन् २०२२ को जुलाईसम्ममा न्यौपाने परिवारको ५२ प्रतिशत स्वामित्व छ भने अग्रवाल परिवारको स्वामित्व ४५ प्रतिशत छ ।

सिद्धी लक्ष्मी स्टील
लक्ष्मी ग्रुपद्वारा सञ्चालित सिद्धी लक्ष्मी स्टीलले सन् ३ अर्ब ६३ करोड १६ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब २५ करोड ५९ लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

समृद्धि स्टील ब्रान्डमा बजारमा डण्डी बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०१९ को अक्टोबारबाट व्यापार शुरु गरेको थियो ।

लक्ष्मी ग्रुप कम्पनी अन्तर्गतको सिद्धी लक्ष्मी स्टीलको स्थापना २०१७ मा नवलपरासीमा भएको थियो । कम्पनीमा गणेश बहादुर श्रेष्ठ र उनका तीन जना छोराहरु अन्जन श्रेष्ठ, निराकर श्रेष्ठ र निरन्जन श्रेष्ठको बराबर हिस्सा छ ।

कम्पनीले भारतबाट बिलेट आयात गरेर छड उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता २ हजार केजी मेट्रिक टन छ ।

आरती स्ट्रिप्स
बजारमा आरती ब्रान्डमा स्टीलजन्य वस्तु बिक्री गर्ने आरती स्ट्रिप्स प्रालिले सन् २०२१ मा १३ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० मा १२ अर्ब ३२ करोड रुपैयाँ र सन् २०१९ मा १६ अर्ब ९९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीकोे सन् २०२१ मा १०.५२ प्रतिशतले आम्दानी बढेको छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा १० अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । साथै, सो अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ ।

विगत १६ वर्षदेखि निरन्तर नेपाली बजारमा विभिन्न प्रकारका जस्तापाता उत्पादन गर्दै आएको कम्पनीले कलर कोटेड सिट्स ‘आरती स्पेक्ट्रा’ ब्रान्डमा, जस्तापाता र एमएस पाइप ‘आरती सुरक्षा’ ब्रान्डमा, ‘आरती पर्फेक्ट’ र ‘आरती टाइगर’ ब्रान्डमा टीएमटी बार बिक्री वितरण गर्दै आएका छन् । कम्पनीअनुसार ‘आरती सिल्भर’ ब्रान्ड जस्तापाता बिक्री गर्दै आएका छन् ।

नेपालभर २०० डिलर रहेको कम्पनीले आइरन र प्रोफाइल सिट्स, एमएस टुब र शटर पत्ति उत्पादन गर्दै आएका छन् ।

कम्पनीले हाल १५ लाख मेट्रिक टन उत्पादन क्षमतामा कोल्ड कोलिङ मिल बिस्तार गरेको छ । कम्पनीने सीआर कोइला भारत चीनबाट आयात गरी उत्पादन गर्दै आएका छन् ।

कम्पनीअनुसार दुई वटा ब्रान्डको जस्तापाताको उत्पादन क्षमता ५५/५५ हजार मेट्रिक टन छ भने सेतो जस्तापाताको क्षमता १० लाख मेट्रिक टन छ ।

कम्पनीले एचआर कोयल्स, अल्मोनियमलगायत अन्य विभिन्न कच्चा पदार्थ भारत र चीनबाट आयात गर्दै आएको छ । मोरङमा उद्योग रहेको उक्त कम्पनीको वार्षिक स्टीलजन्य सामग्री उत्पादन गर्ने क्षमता २ लाख ३५ हजार मेट्रिक टन छ ।

श्रीकृष्ण स्टील
केएल ग्रुपद्वारा सञ्चालित श्रीकृष्ण स्टील उद्योगले सन् १ अर्ब ६१ करोड २० लाखको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब १६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् १९९५ देखि पाइप, सिट्स र शटर पत्ति उत्पादन गर्दै आएको छ ।

कम्पनीले ‘नारायणी स्टील’ ब्रान्डमा विभिन्न पाइप, सिट्स र अन्य स्टीलजन्य सागम्री बिक्री वितरण गर्दै आएको छ । देशभर १२९ वटाभन्दा बढी वितरक तथा डिलर रहेको कम्पनीको मात्रै १५ वटा हार्डवेयर ट्रेडिट आउटलेट छ ।

कम्पनीले सन् २०२१ मा डेढ अर्बको व्यापार गर्दा ९.७१ प्रतिशतले नाफा कमाएको छ । जसका कम्पनीले सन् २०२१ मा १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले एचआर र सीआर पाइपसहित अन्य विभिन्न स्टीलका सागम्री उत्पादन गरी देशभर बिक्री गर्दै आएको छ ।

नारायणी स्पट
केएल ग्रुपद्वारा नै सञ्चालित नारायणी स्पट प्रालिले सन् २०२१ मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ५८ करोड ७० लाख र सन् २०१९ मा ४ अर्ब २२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

वार्षिक २ लाख १६ हजार मेट्रिक टनक डण्डी र एमएस राउन्ड उत्पादन गर्ने क्षमता रहेको कम्पनीले ‘नारायणी स्टीलस्’ ब्रान्डमा उत्पादन सामग्री बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । जसमा कम्पनीको देशभर १२९ वटा वितरक छन् ।

कम्पनीको अहिले ब्लेड उत्पादन क्षमता १ लाख मेट्रिक टन छ । कम्पनीले सन् २०२१ मा ४.४ प्रतिशतले नाफा कमाएको छ ।

नारायणी रोलिङ मिल्स
केएल ग्रपद्वारा नै सञ्चालित नारायणी रोलिङ मिल्स प्रालिले सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ५८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक ४८ हजार ३ सय मेट्रिक टन डण्डी, एन्जल्स र अन्य अलाइन्ड स्टील सामग्री उत्पादन गर्दै आएको कम्पनीको सन् २०२१ मा ६ प्रतिशतले बढी व्यापार भएको छ ।

कम्पनीले सन् २०२१ मा १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीअनुसार व्यापार गरेकोमध्ये सीआरको हिस्सा ३० प्रतिशत एंगल्स र फ्ल्याट्सको हिस्सा ३७ प्रतिशत छ । कम्पनीले ‘नारायणी स्टील’ ब्रान्डमा उत्पादन सामग्री बिक्री वितरण गर्दै आएको छ ।

विजयश्री स्टील
विजयश्री स्टील प्रालिले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

भारतबाट कच्चा पदार्थ आयात गरी दैनिक ७ सय मेट्रिक टन डण्डी उत्पादन गर्दै आएको कम्पनीको व्यापार सन् २०२१ मा ३५ प्रतिशतले बढेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ । विजय ग्रुपद्वारा सञ्चालित कम्पनीको निर्देशक विकास केडिया निर्देशन हुन् ।

पायोनियर वायर
तार, नेल्स र अन्य स्टीलजन्य सामग्री उत्पादन गर्दै आएको पायोनियर वायर प्रालिले सन् २०२१ मा १ अर्ब ४३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कोरोना महामारीका कारण घटेको कारोबार पुनः लयमा फर्कन थालेको छ ।

कम्पनीले सन् २०२० मा ६५ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

वार्षिक ४० हजार मेट्रिक टन स्टीलजन्य सामग्री उत्पादन गर्ने क्षमता रहेको कम्पनी सारडा ग्रुपद्वारा सञ्चालित कम्पनी हो । कम्पनीले सन् २०२१ मा डेढ अर्ब व्यापार गरेको छ । कम्पनीको प्रबन्ध निर्देशक अनिल सारडा हुन् ।

मैनावती स्टील
मैनावती स्टील उद्योगले सन् २०२१ मा ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा ५ अर्ब र सन् २०१९ मा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

दुई दशकदेखि कालो पाइप, ग्याल्भनाइज पाइप, ट्युबस पाइप, टुबलरपोल, टेलिस्कोप पोल, शटर प्रोफाइल र स्ट्रक्चर उत्पादन गर्दै आएको कम्पनी बिशाल ग्रुप अफ कम्पनीद्वारा सञ्चालित कम्पनीको हो ।

बजारमा व्यापार, उत्पादन, हस्पिटालिटी, इन्स्योरेन्स र बैंक क्षेत्रमा अब्बल विशाल ग्रुपको मैनावती स्टील कम्पनीमा दुई जना सञ्चालक समिति छन् । स्टील उद्योगमा त्रिलोक चन्द अग्रवाल र तुल्सी राम अग्रवाल सञ्चालक समितिमा छन् ।

उद्योगले अधिकांश कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको जनाएको छ ।
सन् १९९५ मा सुनसरी नेपालमा स्थापना भएको कम्पनीको एमएस ब्ल्याक र गल्भनाइज पाइपको उत्पादन क्षमता १ लाख ११ हजार ९ सय मेट्रिक टन छ ।

एमएस हाइटेक स्टील
वार्षिक २७ हजार मेट्रिक टन एन्जल, च्यानल, फ्ल्याट र स्क्यार स्टील उत्पादन क्षमता भएको एमएस हाइटेक स्टील कम्पनीले सन् २०२१ मा ७१ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा ४६ करोड ७० लाख र सन् २०१९ म ६२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

महेश भट्टराई अध्यक्ष रहेको कम्पनीले सन् २०२१ मा ८.२४ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी स्टीलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।

पञ्चकन्या स्टील
पञ्चकन्या स्टील प्रालिले सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब २६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

साथै, सन् २०१९ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी उत्पादन क्षमता रहेको कम्पनीको कारोबार सन् २०२१ मा ६९ प्रतिशतले बढेको छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ ।

कम्पनीअनुसार कोरोनापछि बजारमा डण्डीको माग भएकाले सन् २०२१ मा कारोबारमा सुधत्रार आएको छ । त्यसैगरी, सन् २०२२ को ९ महिनाको अवधिमा कारोबारमा बढ्दै गएको छ ।

उक्त अवधिमा कम्पनीले ५ अर्ब ३३ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

पञ्चकन्या ग्रुुपद्वारा सञ्चालित पञ्चकन्या स्टीलमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रबन्ध निर्देशक प्रदिपकुमारसहित ७ जना बोर्ड सदस्य छन् । कम्पनीको देशभर ९० वटा डिलर छन् ।

अशोक स्टील
अशोक स्टील उद्योगले सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् १९९४ देखि नेपालमा टीमटी बार अर्थात् डण्डी उत्पादन गर्दै आएको छ । बारा जिल्लामा रहेको कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख मेट्रिक टन छ ।

कम्पनीले विभिन्न देशबाट स्पञ्ज आइरन, पिग आइरन र स्क्रयाब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२१ मा शतप्रतिशतले व्यापार बढेको जनाएको छ । तर, नाफा भने ६.९२ प्रतिशतले घटेको जनाएको छ ।

कम्पनीले ‘अशोक टिएमटी’ ब्रान्डमा डण्डी बिक्री गर्दै आएको छ । कम्पनीका देशभर २५० बढी डिलर र ५ सयभन्दा बढी खुद्रा बिक्रेता छ ।

जगदम्बा स्टील
जगदम्बा स्टील प्रालिले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० मा २१ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको थियो । साथै, सन् २०१९ मा ३५ अर्ब ८७ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको भनाइ छ । त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमै २१ अर्ब ६६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको जनाएको छ ।

साहिल अग्रवाल प्रबन्ध निर्देशक रहेको कम्पनीले विगत दुई दशकबाट स्टीलजन्य सामग्री उत्पादन गर्दै आएको छ ।
कम्पनीले सन् २०२१ मा ४० प्रतिशतले बढी कारोबार गरेको थियो । जसमा कम्पनीले ७.७ प्रतिशत नाफा कमाएको छ ।

त्यसैगरी, सन् २०२२ को ६ महिनाको अवधिमा कम्पनीले १३.२ प्रतिशतले नाफा कमाउने जनाएको छ । कम्पनीले विभिन्न देशबाट एमएस ब्लेड, स्पञ्ज आइरन आयात गरी स्टील उत्पादन गर्दै आएको छ ।

कम्पनीले उक्त आयातित कच्चा पदार्थबाट टीएमटी बार, एन्गल्स्, सेक्सन, पाइप, शटर प्रोफाइल, कोयल, सिट्स् र विभिन्न प्रकारका तार उत्पादन गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीले जगदम्बा इ, राइनो ५००डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायर ब्रान्डमा विभिन्न सामग्री बिक्री गर्दै आएको जनाएको छ ।

वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले सन् २०२२ बाट निर्यातसमेत गर्न थालेको छ ।

८५ अर्बको रेटिङ
सन् २०२१ मा १३ वटा स्टीलजन्य कम्पनीले ८५ अर्ब रुपैयाँ कर्जाको रेटिङ गराएका छन् । सबैभन्दा ऋण लिनेमा जगदम्बा स्टील छ । कम्पनीले ३४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँको ऋण लिएको छ ।

त्यसैगरी, लक्ष्मी स्टीलले ६ अर्ब ६७ करोड ४० लाख रुपैयाँ, सिद्धी लक्ष्मी स्टीलले ३ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, आरती स्ट्रिप्सले ११ अर्ब ७६ करोड ९४ लाख र श्री कृष्ण स्टीलले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ ऋण लिएका छन् ।

त्यसैगरी, नारायणी स्पट प्रालिले ३ अर्ब ९४ करोड ७२ लाख रुपैयाँ, नारायाणी रोलिङ मिल्स्ले २ अर्ब ३४ करोड, विजयश्री स्टीलले ४ अर्ब ६ करोड ९८ लाख रुपैयाँ, पायोनियर वायर प्रालिले १ अर्ब ५० करोड ९७ लाख रुपैयाँ, मैनावती स्टील उद्योगले ६ अर्ब २२ करोड ५० लाख रुपैयाँ, एमएस हाइटेक स्टीलले ८० करोड रुपैयाँ, पञ्चकन्या स्टीलले ५ अर्ब २५ करोड रुपैयाँ र अशोक स्टीलले ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जा लिएका छन् ।


अरिष्मा मोक्तान