नारायणी मोडर्न पल्सेस उद्योगको व्यापारको बाउन्स ब्याक, साढे २ अर्ब आम्दानी



काठमाडौं । चचन ग्रुपद्वारा सञ्चालित नारायणी मोडर्न पल्सेस उद्योगको व्यापार बाउन्स ब्याक हुन थालेको छ । कोरोना महामारीका कारण घटेको व्यापारमा कोरोनापछि रिबाउन्ड हुँदै गएको हो ।

कम्पनीले कोरोनाअघि अर्थात् सन् २०१९ मा २ अर्ब ६८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० मा कोरोना महामारीका कारण २ अर्ब २३ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२१ मा कोरोना महामारीको संक्रमण कम भएसँगै १३.९६ प्रतिशतले आम्दानी वृद्धि गरी २ अर्ब ५५ करोड २० करोडको व्यापारसहित बाउन्स ब्याक हुँदै गएको कम्पनीको भनाइ छ ।

त्यसैगरी, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा १ अर्ब २१ करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

मोहनलाल अग्रवाल र श्रवणकुमार चचनको स्वामित्व रहेको कम्पनीको व्यापारमा बाउन्स ब्याक हुँदै गएपनि नाफा भने घटेको छ । कम्पनीले सन् १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएकोमा सन् २०२१ मा भने १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनी अनुसार सन् २०२० मा ७.४१ प्रतिशतले नाफा कमाएकोमा सन् २०२१ मा ५.९६ प्रतिशत मात्रै नाफा कमाएको छ ।

कम्पनीले विभिन्न देशबाट मसुर दाल, हरियो र पहेंलो केराउ आयात गर्दै प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले निर्यातसमेत गर्ने गरेको छ ।

५० हजार मेट्रिक टन क्षमताको खाद्यान्न उत्पादनसहित साना तथा घरेलु उद्योगमा दर्ता भएको कम्पनीको काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा डिपो छ ।

केयर रेटिङ नेपालमार्फत् कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८३ करोड ७५ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा केयर रेटिङले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि २० करोड ४० लाख रुपैयाँ अर्थात् डबर बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँको अर्थात् एफोर रेटिङ दिएको छ ।


क्लिकमाण्डू