मर्जर एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने



काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का हुने निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ ।

धितोपत्र बोर्डले सार्वजनिक गरेको निर्देशिकामा मर्जर तथा एक्विजेशन भएको १५ दिनपछि सेयर कारोबार खुल्ने उल्लेख छ ।

अहिले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार एकीकृत कारोबार नभएसम्म रोक्का हुने गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजेशनको हकमा सेयर कारोबार रोक्का धितोपत्र बोर्डको नियम अनुसार हुने मौद्रिक नीतिमा घोषणा गरेको थियो ।

धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गर्दै १५ दिनभन्दा बढी सेयर कारोबार रोक्का राख्न नपर्ने व्यवस्था गरेको हो । बोर्डले अहिले निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । सुझाव लिएपछि निर्देशिका जारी गर्ने जनाएको छ ।

बोर्डको निर्देशिकामा गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोवारको स्वीकृति प्राप्त गरेपश्चात् सो को जानकारी सहित एकीकृत व्यवसायिक कारोवार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने उल्लेख छ ।

‘धितोपत्र बजारले उपदफा (१) बमोजिम एकीकृत व्यवसायिक कारोवार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोवार रोक्का राख्नु पर्ने छ,’बोर्डको मस्यौदामा उल्लेख छ ।

तर संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने छैन ।


क्लिकमान्डु