प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक



काठमाडौं । मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षाका लागि एक लाख ३० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेको हो ।

साउन १९ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले भने मंसिर २ गते निर्वाचन गर्नका लागि सिफारिस गरेको थियो ।

सत्तारुढ गठबन्धनका दलहरुबीच भएको छलफलमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सांसदका लागि निर्वाचन हुनेछ । त्यसैगरी प्रदेशतर्फ ७ प्रदेशका प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० सांसदका लागि निर्वाचन हुनेछ ।


क्लिकमान्डु