निर्वाचनको मुखमा भारतले चिया निर्यातमा समस्या खडा गर्न हुँदैनः पूर्व प्रम खनाल



काठमडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले भारतले निर्वाचनको मुखमा आएर चिया निर्यातमा समस्या खडा गर्न नहुने बताएका छन् ।

भारतमा नेपाली चिया निर्यातमा रोक लगाउने विषय बाहिर आएको भन्दै त्यस्तो हुन नदिन मंगलबार खनालको नेतृत्वमा इलामका चिया उत्पादकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएपछि नेता खनालले यस्तो बताएका हुन् ।
उनले निर्वाचनको मुखमा भारतले चिया निर्यातमा समस्या खडा गर्नु भनेको छिमेकीले छिमेकीसँगको मैत्रीपूर्ण विषय नभएको बताए ।

उनले नेपालले भारतमा चिया निर्यात गर्दा पाएको सुविधा कटौती गर्न सरकारले दिन नहुने बताए । खनालले प्रधानमन्त्रीसँग पहिलो आग्रह नै चिया निर्यातमा पाइरहेको सुविधा कटौती नहोस् भन्ने माग रहेको बताए ।

नेता खनालले अहिले नेपालको चिया भारतमा निर्यातको जस्तो अवस्था रहेको छ त्यसमा कुनै प्रकारको बाधा आउन नहुने बताए । उनले नेपालमा उत्पादन भएको चियाको मुख्य बजार नै भारत भएकाले निर्यातमा समस्या आउन सरकारले दिन नुहने तर्क राखे ।

नेता खनालले भारतसँग चियामा सहुलियतपूर्ण सम्बन्ध रहेकाले नेपालबाट चिया निर्यात गर्दा कुनै कर लगाएको भन्दै चिया निर्यातमा भारतबाट नेपालले पाएको सुविधा भएको बताए । उनले नेपालको चिया निर्यातमा पाएको सुविधालाई कटौती गर्ने हिसावले भारतका ३१ जना संसदहरुको टिमले अध्ययन गरेर भारत सरकारलाई नेपालको चिया गुणस्तरहीन र विषादी पनि आएकाले भारतको अन्तर्राष्ट्रिय बजारमा समस्या भयो भन्दै प्रतिवेदन बुझाएको बताए । उनले भारत सरकारले चिया निर्यातमा दिएको सुविधा कटौती र रोक लगाएका नेपाली चिया उत्पादकहरु लगायत मुलुकमा समस्या हुने जिकिर गरे ।

सूर्यदय चिया एशोसिएशनका अध्यक्ष उत्तमकुमार श्रेष्ठ अहिलेसम्म जुन किसिमले नेपालको चिया सहज रुपमा भारत निर्यात भइरहेको छ त्यसरी नै सहज बनाइ राखिदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । ज्ञापनपत्र बुझ्दै भारतका राजदुतलाई बोलाएर चिया निर्यातको विषयमा कुरा गर्ने बताएको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भारत सरकारले नेपालको चिया निर्यातमा कडाई गर्ने चरणमा रहेकाले सरकारले भारत सरकारसँग जिटुजी सम्झौता गरेर चिया निर्यात सहज बनाउनुपर्ने बताए । अध्यक्ष श्रष्ठले इलाम जिल्लाको १३ हजार हेक्टर क्षेत्रमाबाट ६० लाख किलो चिया उत्पादन हुने गरेको बताए । उनले २६ हजार किसानले चिया खेती गर्ने गरेको बताए । अध्यक्ष श्रेष्ठले ८० हजार मजदुरले रोजगारी पाएको जानकारी गराए ।


क्लिकमान्डु