अमृत ब्राण्डमा खाने तेल बिक्री गर्ने अन्नपूर्ण भेजिटेबलको ११ महिनाको व्यापार १२ अर्ब



काठमाडौं । अमृतसहित अन्य दुई वटा ब्रान्डमा तेल बेच्ने अन्नपूर्ण भेजिटेबल प्रोडक्ट कम्पनीले ११ महिनाको अवधिमै १२ अर्ब १९ करोडको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२१ मा ११ अर्ब ७ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२० मा ६ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले अमृत, सनस्टार र रानी ब्रान्डमा सोयाबिन, पामोलिन तथा सनफ्लावर तेल तथा घिउ बिक्री गर्दै आएको छ । भारतमा तेलको निर्यात गर्ने गर्छ ।

संघाई परिवारबाट सञ्चालित यस कम्पनीको व्यापार सन् २०२१ मा ५८ प्रतिशतले बढेको छ । सन् २०२१ मा निर्यातसँगै आन्तरिक बजारमा उच्च खपत हुँदा कम्पनीले उच्च व्यापार गरेको जनाएको छ । साथै, कम्पनीले सो अवधिमा १३.११ प्रतिशतले नाफा कमाएको जनाएको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गर्दै बजारमा बिक्री वितरणसँगै निर्यात गर्दै आएका छन् । जसमा नेपालबाट प्रशोधन भएको तेल भारतमा उच्च निर्यात हुँदै आएको छ ।

कम्पनीले कच्चा भटमासको तेल, पामोलिन तेल र सन्फ्लावर तेल विभिन्न देशबाट आयात गर्दै आएका छन् । कम्पनीअनुसार सोयाबिन÷पामोलिन÷सनफ्लावर तेल वार्षिक ६० हजार मेट्रिक टन, वनस्पति घ्यू ७ हजार मेट्रिक टन र १० हजार मेट्रिक टन प्रशोधन क्षमता रहेको जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ नेपालले अल्पकालीन कर्जाका लागि मात्रै ५ अर्ब १४ करोड ५० लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ दिएको छ ।


क्लिकमान्डु