तीन वर्षमा मेरो सेयर खाता ४९७.३३% र डिम्याट खाता खोल्नेको संख्या ८७.१४% ले बढ्यो



काठमाडौं । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि उसैगरी बढेको छ ।

तीन वर्षको अवधिमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ८७.१४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ सम्म २८ लाख ५२ हजार २३३ भएकोमा हाल यो संख्या ५३ लाख ३७ हजार ७७० पुगेको छ ।

यस अवधिमा मेरो सेयर खाता खोल्नेको संख्या भने ४९७.३३ प्रतिशतले बढेको छ । तीन वर्षअघि ७ लाख ४२ हजार ४९ वटा मेरो सेयरमा खाता खोलिएकोमा हाल यो संख्या ४४ लाख ३२ हजार ५४७ पुगेको छ ।

सेयर कारोबार गर्नका लागि डिम्याट अनिवार्य गरिएसँगै खाता खोल्नेको सख्या बढेको हो । त्यस्तै कुनै पनि ठाँउमा बसेर, ब्रोकर कार्यालयसम्म नपुसी सेयर कारोबार गर्न सकिने भएर मेरो सेयर खाता खोल्ने लगानीकर्ताको संख्या पनि बढेको छ ।

सीडीएससीका अनुसार अहिलेसम्म ५३ लाख ३७ हजार ७७० बढीले डिम्याट खोल्दा ३० लाख ५३ हजार पुरुष र २२ लाख ६८ हजार जना महिला रहेका छन् भने ४० जना तेस्रो लिंगी छन् । संस्थागत रुपमा ५ हजार ९९९ वटा खाता खोलिएका छन् ।

पुँजी बजारको विकास भएसँगै स–सानो पुँजी हुनेहरुको आकर्षण बजारमा देखिएको छ । थोरै पैसा हुने तर लगानी गर्न ठाँउ नपाएकाहरुका लागि पुँजी बजार लगानी गर्ने स्थान बनेको छ ।

अहिले थोरै रकमले पनि साधारण सेयरमार्फत् पुँजी बजारमा प्रवेश गर्न सकिने भएको छ । अहिले पुँजी बजारमा युवा÷युवती, विद्यार्थी, गृहिणीलगायत प्रवेश गरिरहेका छन् ।

कुन प्रदेशमा कति ?
डिम्याट खाता खोल्नेमा सबैभन्दा बढी बाग्मती प्रदेश र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशका लगानीकर्ता छन् ।

बाग्मती प्रदेशमा २० लाख ६० हजार ९१५ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या ११ लाख ३७ हजार ३ जना रहेको छ भने महिलाको संख्या ९ लाख १८ हजार ९५० छ । यस्तै १८ जना तेस्रोलिंगी तथा ४ हजार ९४४ वटा डिम्याट खाता कम्पनीले खोलेका छन् ।

प्रदेश १ मा १० लाख १ हजार ९७५ जनाले डिम्याट खाता खोल्दा ५ लाख ६४ हजार ५६४ जना पुरुष, ४ लाख ३७ हजार १२० जना महिला र ३ जना तेस्रोलिंगी रहेका छन् । साथै, उक्त प्रदेशमा २८८ वटा डिम्याट खाता संस्थागत रुपमा खोलिएको सिडिएससीले जनाएको छ ।

गण्डकी प्रदेशमा ७ लाख १४ हजार ७४५ जना लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । जसमा पुरुष ३ लाख ९८ हजार ३८० जना र ३ लाख १६ हजार ११२ जना महिला रहेका छन् । यस्तै ५ जना तेस्रोलिंगी र संस्थागत रुपमा २४८ जनाले डिम्याट खाता खोलेका छन् ।

लुम्बिनी प्रदेशमा ५ लाख ९२ हजार ५९९ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या ३ लाख ४४ हजार ७३२ जना र महिलाको संख्या २ लाख ४७ हजार ६४१ जना रहेका छन् । यस्तै २१८ वटा खाता संस्थागत रुपमा खोलिएका छन् भने ८ जना तेस्रो लिंगीले डिम्याट खाता खोलेका छन् ।

मधेश प्रदेशमा ५ लाख २८ हजार १०४ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या ३ लाख ४१ हजार ४९ जना, १ लाख ८६ हजार ८११ जना महिला र २ जना तेस्रोलिंगी रहेका छन् भने २४२ वटा खाता संस्थागत रुपमा खोलिएका छन् ।

सुदुरपश्चिम प्रदेशमा ३ लाख ६ हजार २२ जनाले डिम्याट खाता खोलेका छन् । जसमा पुरुषको संख्या १ लाख ८८ हजार ७६६ र महिलाको संख्या १ लाख १७ हजार २११ जना रहेका छ । तेस्रोलिंगीको संख्या ४ जना रहेको छ भने संस्थागत रुपमा ४१ वटा खाता खोलिएको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा १ लाख १९ हजार ११३ जनाले डिम्याट खाता खोलेका छन् । जसमा ७५ हजार ८०२ जना पुरुष र ४३ हजार २९३ जना महिला रहेका छन् । उक्त प्रदेशमा १८ वटा डिम्याट खाता संस्थागत रुपमा खोलिएको छ ।


क्लिकमान्डु