ल्याण्डफिल साइटमा गाडी तोडफोड हुन थाले, पुरा गर्नै नसकिने स्थानीयका मागः मेयरको सचिवलाय



काठमाडौं । फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीमा तोडफोड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन हुने काठमाडौं महानगरपालिकाका २ वटा डोजरमा जोडफोड भएको छ ।

यस्तै एउटा एस्काभेटर तथा काठमाडौंबाट फोहोर बोकेर गएका, रात परेर खन्याउन नपाएका आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडिमा तोडफोड भएको छ ।

वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेको बताइन् । त्यहाँबाट पत्र आएपछि वास्तविकता क्षतिको विरवरण आउने उनको भनाइ छ ।

तोडफोड गरिएका सवारी तथा उपकरणहरुमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नमिल्ने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडिहरुको शिसा फोडिएको छ ।

घटनाका बारेमा महानगरका प्रमुखको सचिवालय सदस्य ईञ्जिनियर सुनिल लम्सालका अनुसार महानगरमा बालेन्द्र शाहले प्रमुखका रुपमा निर्वाचित भएर आएदेखि नै अवरोध हुँदै आएको छ ।

उनका अनुसार त्यहाँको मुख्य समस्या सडक रहेको र यसका लागि सडक विभागलाई नियमित कामका लागि दबाब दिएका उनको भनाइ छ । यसका लागि महानगरले बजेटको पनि व्यवस्था गरेको उनको भनाइ छ । ‘स्थानीय सबैको होइन, केहीका यस्ता माग छन्, जुन खुलेर भन्न सकिँदैन’ उनले भने ‘त्यसलाई पूरा गर्न फोहोर व्यवस्थापमा अवरोध गर्नुलाई हतियार बनाइएको छ । हिजोको तोडफोड यसैको सृङ्खला हो ।’

समय क्रममा सबै कुरा बाहिर आउँने उनको तर्क छ । ‘आन्दोलनरत पक्षले आफ्नो व्यवसायबाट ढुङ्गा खरिद गराउन चाहन्छन् । मल कारखाना त्यही क्षेत्रमा बनाउन चाहन्छन् । वासिङ् सेन्टर आफू अनुकुल सञ्चालन गराउन चाहन्छन् । लम्साले भने ‘हाम्रो प्राथमिकता भनेको लिचेड व्यवस्थापन हो । दुर्गन्ध हटाउनु हो । झिँगालगायत कीराहरुको फैलावट रोक्नु हो । हामी प्रणालीमा काम गर्न चाहन्छौँ । प्रभावित क्षेत्रको वातावरण र जनस्वास्थ्यप्रति जिम्मेवार भएर काम गर्न चाहन्छौँ । यो कुरा व्यक्तिगत लाभका लागि सोच्नेहरुका लागि पचेको छैन ।’

तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।


क्लिकमान्डु