युएसडीएफसी र फ्रेन्च प्रोपार्को मार्फत् नेपालको निजी क्षेत्रमा ४२ अर्ब विदेशी लगानी भित्रदै



काठमाडौं ।  नेपालमा प्राइभेट इक्विटी फण्डले अनुमतिपत्र पाउँदै विभिन्न उद्योग व्यवसायमा लगानी गर्न थालेपछि निजी क्षेत्रमा लगानी गर्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ठुलो रकम लगानी ल्याउने भएका छन् । 

अमेरिकाको डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (युएसडिएफसी) र फ्रान्सको फ्रेन्च प्रोपार्कोले यसै आर्थिक वर्षमा ३३० मिलियन डलर अर्थात् झन्डै ४२ अर्ब रुपैयाँ लगानी गर्ने योजनामा बनाएका छन् । 

यसै आर्थिक वर्षमा युएसडिएफसीले नेपालमा ३०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यसले यसअघि नै १२ मिलियन अमेरिकी डलर डोल्मा इम्प्याक्टमा लगानी गरेको छ । 

त्यस्तै, फ्रेन्च प्रोपार्कोले पनि यसै आर्थिक वर्षको अन्तसम्ममा ३० देखि ४० मिलियन डलर लगानी गर्ने योजनामा छ । 

यी संस्थाहरूले खासगरी प्राइभेट इक्विटी फण्ड, बैंक र उद्योग व्यवसायमा लगानी गर्ने छन् । 

नेपालमा यसअघि नै यस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले लगानी गर्न शुरु गरिसकेका छन् । जस्तो कि बेलायतका ब्रिटिस इन इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआइआइ)ले वल्र्डलिंकमा १० प्रतिशत लगानी गरेको छ । 

केही संस्थाहरूले नेपालका वाणिज्य बैंकहरुलाई ऋण उपलब्ध गराउँदै आएका छन् । 

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट भर्खर अनुमतिपत्र पाएको ग्लोबल इक्विटी फण्डका म्यानेजिङ पार्टनर मनिष थापाले पनि डीएफसी र फ्रेन्च प्रोपार्कोले नेपालमा लगानी गर्न लागेको बताए । 

नेपालमा यस्ता विदेशी संस्थाहरूले ठूलोमात्रामा लगानी गर्ने योजना बनाएको उनले बताए । 

ग्लोबल इक्विटी फण्ड नेपालमा पहिलो पटक लागनीको अनुमतिपत्र पाउने इक्विटी फण्ड हो । लामो समयको पर्खाइपछि ग्लोबल इक्विटी फण्डले अनुमतिपत्र पाएको हो । 

यस्तो केही प्राइभेट इक्विटी फण्ड र क्यापिटल भेन्चरहरु सेबोनबाट अनुमतिपत्र पाउने पाइपलाइनमा छन् । 


क्लिकमान्डु