ब्याजदर बढ्न नदिन राष्ट्र बैंकको हस्तक्षेप, ६ अर्ब ५१ करोडको ट्रेजरी बिल्स आफैं किन्यो 



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिन हस्तक्षेप गरेको छ । बैंकहरुले ट्रेजरी बिल्सको ब्याजदरमा १४ प्रतिशतसम्म ब्याजदर पाएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

सोमबार नेपाल राष्ट्र बैंकले ९१ दिनको ७ अर्ब १० करोडको ट्रेजरी बिल्स नवीकरणको लागि बैंक तथा वित्तीय संस्थालाई बोलकबोल प्रक्रियाबाट बिक्री आह्वान गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाले ७ अर्ब १० करोडको ट्रेजरी बिल्स खरिद गर्न १३१ वटा बिड मार्फत १९ अर्ब ८१ करोड रुपैयाँको आवेदन गरेका थिए । तर,ब्याजदर बढी प्रस्ताव गरेको कारण ५९ करोड रुपैयाँको मात्र ट्रेजरी बिल्स बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाएका छन् ।

राष्ट्र बैंकले ६ अर्ब ५१ करोड रुपैयाँको ट्रेजरी बिल्सको ब्याजदर आफैं खरिद गरेको छ । ५९ करोड रुपैयाँको नवीकरणको ट्रेजरी बिल्स मंगलबार न्यूनतम १०.४७ प्रतिशत ब्याजदरदेखि बढीमा १०.५० प्रतिशत ब्याजदरमा बिक्री भएको छ । 

यसअघि अघिल्लो साता पनि राष्ट्र बैंकले २८ दिनको ४ अर्ब ९८ करोड तथा ९१ दिनको ४ अर्ब ९० करोडको ट्रेजरी बिल्स खरिद गरेको थियो । राष्ट्र बैंकले एक सातामा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढ्न नदिनको लागि १६ अर्ब ३९ करोडको ट्रेजरी बिल्स आफैं खरिद गरेको छ । 

सरकारले एकवर्षभन्दा कम समयको लागि लिने ऋणपत्रलाई ट्रेजरी बिल्स भनिन्छ । 


क्लिकमान्डु