सार्वजनिक यातायातमा मनलाग्दी भाडाः तत्काल संस्थागत संयन्त्र बनाएर अनुगमन गर्न सरकारलाई निर्देशन



काठमाडौं । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन सरकारलाई निर्देशन दिइन ।

सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन निर्देशन दिइन् । उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट-मुग्लिन र मुग्लिन-पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन् ।

सभापति खड्काले वातावरण, प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिइन् ।


क्लिकमान्डु