सेवा प्रभावकारी बनाउँदै राष्ट्रिय सहकारी बैंक, गठन गर्यो थिंक ट्यांक



ललितपुर । राष्ट्रिय सहकारी बैंकले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको सम्भावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत समुह (थिंक ट्यांक) गठन गरेको छ ।

बैंकको सञ्चालक समितिको साउन १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले विद्वत समुह गठन गरेको हो । सहकारी लगायत वित्तीय क्षेत्रमा विभिन्न तहमा रहेर योगदान गरेका विशेषज्ञ तथा विषयसँग सम्बन्धित व्यक्तिहरुको सहभागितामा विद्वत समुह गठन गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।

विद्वत समुहका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, विषय विज्ञ डा.भिष्म अधिकारी, डा.गोविन्दराज जोशी, डा. रामजीप्रसाद न्यौपाने, डा. दिप बहादुर रावल, सहकारी अभियानकर्मीहरु डि.बी.वस्नेत, सरिता तिम्सिना भट्टराई, रामशरण शर्मा घिमिरे, केशव प्रसाद पोखरेल, विष्णु पाठक रहेका छन् ।

बैंकले दिने सेवा सुविधा, कानुनी संरचनाहरु लगायत सहकारी क्षेत्रको सवलीकरणका लागि आवश्यक सुझाव तथा समन्वयका लागि विद्वत समुहसंग समन्वय गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

उक्त बैठकले बैंकको शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजकमा बैंकका सञ्चालक राम बहादुर जिसीलाई चयन गरेको छ । यस्तै सदस्यमा सञ्चालक ज्ञान बहादुर तामाङलाई चयन गरिएको छ ।

बैंकको कर्मचारी सेवा सुविधा उपसमितिको संयोजकमा अमृता सुब्बा तथा सदस्यहरुमा महेन्द्र कुमार गिरी, माधवलाल देवकोटा र सदस्य सचिवमा नायव महाप्रवन्धक राजेश श्रेष्ठ रहेका छन् ।

यस्तै जोखिम व्यवस्थापन उपसमितिको संयोजकमा बैंकका सञ्चालक माधवलाल देवकोटा तथा सदस्यहरुमा सञ्चालकहरु पार्वती थापा र महेन्द्र कुमार गिरी तथा सदस्य सचिवमा प्रमुख सञ्चालन अधिकृत मोहन कुमार कार्की रहेका छन् ।


क्लिकमान्डु