लागत बढाउनमात्रै ब्याजदर बढाउने पक्षमा छैनौं



नेपाल बैकर्स संघले शुक्रबार ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बैंकदर बढाएको तथा व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले फरक राख्नुपर्ने व्यवस्था गरेपनि तत्काल ब्याजदर नबढाउने निर्णय संघले गरेको हो । यो विषयमा संघका अध्यक्ष अनिल उपाध्यायसँग क्लिकमाण्डूले गरेको संक्षिप्त कुराकानी

बैंकहरुलाई यसपटक ब्याजदर बढाउने सुविधा थियो । तर तपाईंहरुले ब्याजदर नबढाउने निर्णय गर्नुभयो । किन ?
बैंकहरुलाई अहिले ब्याजदर बढाउने सुविधा थियो । तर सुविधा छ भन्दैमा लागत बढाएर ब्याजदर नबढाउनु उचित लागेन । साउन महिनाको ब्याजदर पहिले नै प्रकाशित भइसकेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकदर १.५ प्रतिशतले बढाएर ८.५ प्रतिशत पुर्याएसँगै बैंकहरुलाई पनि ब्याजदर बढाउनका लागि सुविधा थियो तर यसले लागत मात्रै बढाउने भएपछि तत्काल ब्याजदर नबढाउने निर्णय गरेका हौं ।

तर समय अनुकुल भएपछि भने ब्याजदर बढाउछौं । अहिले बीच अवस्थामा ब्याजदर बढाउने हो भने अस्वस्थ प्रतिष्पर्धा बढ्ने सम्भावना भएकाले ब्याजदर नबढाउने निर्णय भएको हो । अहिले प्रकाशित ब्याजदरका आधारमा नवीकरण गर्ने र पछि ब्याजदर बढाउने छौं ।

यसको अर्थ भदौ महिनामा ब्याजदर बढ्छ त ?
भदौ महिनामा ब्याजदरमा केही परिवर्तन हुन्छ तर त्यो अहिले नै थाहा छैन । तरलताको अवस्थाका आधारमा ब्याजदर बढाउने वा नबढाउनेमा निर्णय गर्छौ । ब्याजदर बढाएर लागत बढाउने भन्दा पनि तरलता बढाउनेतर्फ जानुपर्छ भन्ने हो ।

संस्थागत निक्षेपको भन्दा व्यक्तिगत निक्षेपको ब्याजदरमा २ प्रतिशत बढी हुनुपर्ने व्यवस्था छ । अब संस्थागत निक्षेपको ब्याजदर घट्छ कि व्यक्तिगत निक्षेपको बढ्छ ?
अहिले यथावत नै हुन्छ । तर भदौपछि परिस्थिती अनुसार दुईमध्ये के गर्ने भन्ने निर्णयमा पुग्छौं । तर हामीहरु कस्ट बढाउने पक्षमा भने छैनौं । कस्ट बढाएर जानेभन्दा पनि अहिलेकै अवस्थामै कायम रहने गरी अघि बढ्ने भन्नेमा हाम्रो सहमति भएको छ ।


क्लिकमान्डु