निजगढ विमानस्थलबारे अध्ययन गर्न १० सदस्यीय विज्ञ टोली गठन



काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्नका लाग १० सदस्यीय विज्ञ टोली गठन गरेको छ ।

सर्वोच्च अदालतले विमानस्थल निर्माण सम्बन्धी गरेको फैसलापछि सरकारले विज्ञहरुको अध्ययन समिति गठन गरेको हो । सर्वोच्च अदालतले कहाँ, कुन ठाउँमा कति क्षेत्रफलको जग्गामा विमानस्थल निर्माण गर्नुपर्ने हो यकिन गरी निर्माण गर्नुपर्ने फैसला गरेको थियो ।

सोही अनुसार सरकारले विज्ञहरुको अध्ययन टोली गठन गरेको हो । केही दिन अघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माणबारे विज्ञहरुको अध्ययन समिति गठन गर्न लागिएको जानकारी दिएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै अधिकारीले क्यानले यसबारे निर्णय गरिसकेको र सरकारले टोली गठन गर्ने जानकारी दिएका थिए ।

क्यानका सूचना अधिकारी जगन्नाथ निरौलाका अनुसार क्यानका पूर्वमहानिर्देशक बीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ टोली गठन गरिएको हो ।

टोलीका सदस्यहरुमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ सूर्यराज आचार्यलगायत रहेको उनले बताए ।

‘पूर्वमहानिर्देशक देउजाको संयोजकत्वमा टोली गठन भएको हो, पत्र प्राप्त भइसकेको छैन, सम्भवतः शुक्रबार पत्र प्राप्त भएपछि बाँकी जिम्मेवारी के के हो थाहा हुनेछ,’ निरौलाले भने ।


क्लिकमान्डु