मेरिगोल्ड ओभरसिजविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर



काठमाडौं । वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिज प्रालीका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको छ ।

संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सय रकम लिई रोजगारीमा नपठाइ ठगी गरेको भन्दै उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो ।

विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ ।

उनीहरुले ठगी गरेको ३८ जनाबाट १ करोड ८६ लाख १५ हजार २ सयको ५० प्रतिशतले हुन आउने हर्जना क्षतिपूर्तिवापतको ९३ लाख ७ हजार ६ सय समेत गरि २ करोड ७९ लाख २२ हजार ८ सय पिडितहरुलाई दिलाउने गरी निवेदन दिइएको छ ।
मेरिगोल्ड ओभरसिजविरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाए वा संस्था खारेजी हुने प्रावधानअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

विभागले यो आर्थिक वर्षमा ४ वटा संस्थाविरुद्ध ठगी मुदा दायर गरेको विभागका निर्देशक एवम् सुचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए ।


क्लिकमान्डु