जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण भएका नेपाली जापान पठाउने तयारी



काठमाडौं । सरकारले जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरूलाई छिट्टै जापान पठाउने तयारी गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष जनशक्ति (स्पेशीफाइड स्किल्ड वर्कर–एसएसडब्ल्यू) प्रणालीमार्फत् जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरु प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।

नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डण्ल कार्यसमिति बनेको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सदस्य थिए ।

त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ ।

सरकारले बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्नेछ ।


क्लिकमान्डु