पञ्चकन्या ग्रुपका ४ कम्पनीको ८ अर्बको कारोबार, ८ अर्बकै ऋण



काठमाडौं । पञ्चकन्या ग्रुपका ४ वटा कम्पनीले ८ अर्बको कारोबार गरेका छन् । सन् २०२१ मा पञ्चकन्या समूहअन्तर्गतको ४ वटा कम्पनीले ८ अर्ब ६३ करोड ६० लाख रुपैयाँको कारोबार गरेका हुन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालमा सार्वजनिक गरेको कारोबार विवरणअनुसार पञ्चकन्या प्लास्टिक उद्योगबाट १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ, पञ्चकन्या प्लास्ट प्रालिबाट ८९ करोड ५० लाख रुपैयाँ, पञ्चकन्या स्टिल प्रालिले ५ अर्ब ५३ करोड २० लाख र पञ्चकन्या रोटोमोल्ड प्रालिले ८६ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् ।

पञ्चकन्या चार वटा कम्पनीले साढे ८ अर्बको कारोबार गर्दा स्टिलको हिस्सा सबैभन्दा धेरै छ । जसमा पञ्चकन्या स्टिलले मात्र साढे ५ अर्ब बढीको कारोबार गरेको छ ।

पञ्चकन्या स्टिल प्रालिः पञ्चकन्या स्टिल प्रालिले सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब २६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

साथै, सन् २०१९ मा ४ अर्ब ५७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी उत्पादन क्षमता रहेको कम्पनीको कारोबार सन् २०२१ मा ६९ प्रतिशतले बढेको छ ।

कम्पनीले भारतबाट कच्चा पदार्थको रुपमा एमएस ब्लेड आयात गरी नेपालमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार सन् २०२१ मा कारोबार गरेकोमध्ये ९२ प्रतिशत कच्चा पदार्थको रहेको छ । कम्पनीअनुसार कोरोनापछि बजारमा डण्डीको माग भएकाले सन् २०२१ मा कारोबारमा सुधार आएको छ ।

त्यसैगरी, सन् २०२२ को ९ महिनाको अवधिमा कारोबारमा रिबाउन्ड हुँदै गएको जनाएको छ । सो अवधिमा कम्पनीले ५ अर्ब ३३ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको छ । कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

पञ्चकन्या ग्रुपद्वारा सञ्चालित पञ्चकन्या स्टिलमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रबन्ध निर्देशक प्रदिपकुमारसहित ७ जना बोर्ड सदस्य छन् । कम्पनीको देशभर ९० वटा डिलर छन् ।

पञ्चकन्या रोटोमोल्ड प्रालिः पञ्चकन्या ग्रुपअन्तर्गतकै पञ्चकन्या रोमोल्ड प्रालिले सन् २०२१ मा ८६ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ४५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

वार्षिक ५ हजार ४ सय मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन क्षमता रहेको कम्पनीको आम्दानी सन् २०२१ मा ८८.६१ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीपछि बजार उच्च माग भएकाले व्यापारमा सुधार आएको कम्पनीको भनाइ छ ।

पञ्चकन्या ब्रान्डमै पाइप र फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीमा पनि ७ जना बोर्ड सदस्य छन् । कम्पनीले उत्पादन गरेको उक्त सामग्री देशभर उपलब्ध रहेको जनाएको छ ।

पञ्चकन्या प्लास्टिक उद्योग प्रालिः पञ्चकन्या ग्रपकै पञ्चकन्या प्लास्टिक उद्योगले सन् २०२१ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । ९ हजार मेट्रिक टन एजडीई पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२० मा १ अर्ब २९ करोडको व्यापार गरेको थियो ।

सन् २०२१ मा सन् २०२० को तुलनामा ४.४३ प्रतिशतले कारोबार बढेको जनाएको छ । तर, नाफा भने १.७९ प्रतिशतले घटेको छ । सात जना बोर्ड सदस्य रहेको कम्पनीले ‘पञ्चकन्या’ ब्रान्डमा पाइप तथा फिटिङ्स बजारमा बिक्री वितरण गर्दै आएको छ ।

पञ्चकन्या प्लास्ट प्रालिः पञ्चकन्या पस्ट प्रालिले सन् २०२१ मा ८९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ८३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको कम्पनीले सन् २०२१ मा ८.५१ प्रतिशत नाफा कमाएको छ । बजारमा पाइप तथा फिटिङ्सको उच्चप्रतिस्पर्धा भएकाले कम्पनीको नाफा घटेको जनाएको छ ।

कम्पनीका अनुसार सन् २०२१ मा कारोबारमा रिबाउन्ड हुँदै गएको जनाएको छ । जसमा सन् २०२१ मा ११ प्रतिशतले कारोबार बढेको छ । पञ्चकन्या ब्रान्डमा सामग्री बिक्री गर्दै आएको कम्पनीको उत्पादन क्षमता वार्षिक ५ हजार मेट्रिक टन रहेको छ ।

८ अर्बको रेटिङ

सन् २०२१ मा साढे ८ अर्बको कारोबार गरेको पञ्चकन्या ग्रुपले ८ अर्ब रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सीअनुसार चार कम्पनीले ८ अर्ब ३ करोड १५ लाखको रेटिङ गराएको हो ।

जसमा पञ्चकन्या रोटोमोल्ड कम्पनीले ८६ करोड १० लाख रुपैयाँ, पञ्चकन्या स्टिलले ५ अर्ब २५ करोड रुपैयाँ, पञ्चकन्या प्लास्टले ९४ करोड रुपैयाँ र पञ्चकन्या प्लास्टिक उद्योगले ९८ करोड रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।


क्लिकमान्डु