लुम्बिनी गुरूयोजना विपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज



काठमाडौं । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो ।

परिषद बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस संचालन गर्ने निर्णय गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरेको हो । लुम्बिनी जाने पर्यटकहरुलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस संचालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।
विद्युतीय बस संचालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ ।

कोषको परिषद बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिनेछ ।


क्लिकमान्डु