हत्या गरी बीमाको रकम लिएको घटना खुलेपछि रिलायन्स लाइफलाई स्पष्टिकरण सोध्दै समिति



काठमाडौं । नक्कली विवाह गरी योजनावद्ध रूपमा हत्या गरी बीमाको रकम लिएको घटना बाहिरिएपछि बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्ससँग स्पष्किरण सोध्ने भएको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रिलायन्स लाइफ इन्स्योरेन्सलाई आजै पत्र पठाइने बताए ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली विवाह दर्ता गरी बीमाबाट साढे २ करोड रूपैयाँ लिने कार्यमा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरेको थियो । सीआइबीले गत शुक्रबार हत्यामा संलग्न भएका ६ जनालाई सार्वजनिक गरेको हो ।

सीआईबीले हत्याको पछाडी बीमा जोडिएको पत्ता लगाएपछि कम्पनीलाई समितिले स्पष्किरण सोध्ने भएको हो ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल यस्ता घटना घट्नुमा अभिकर्ताको मूख्य हात रहेको बताउँछन् । हालसम्मको अनुसन्धानले अभिकर्ताको मिलेमत्तो रहेको देखिएको उनले बताए । उनकाअनुसार अभिकर्ताको मिलेमत्तो रहेको देखिएपनि यस घटनासँग सम्बन्धी आवश्यक सम्पूर्ण विवरण कम्पनीसँग माग गर्न लागिएको हो ।

‘अभिकर्ताकै भूमिका बढी देखियो । बीमा गर्नु अगाडि बीमा गर्नका लागि उक्त व्यक्ति कति सक्षम छ भन्ने थाहा हुनु पर्छ,’ अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने, ‘पहिलो अण्डरराइटर अभिकर्ता हो । त्यसपछि कम्पनीको अण्डरराइटिङ विभागले हेर्नुपर्छ ।’

उनकाअनुसार यस्ता घटना घट्नुमा अभिकर्ता, अण्डरराइटिङ विभाग र कम्पनी कै कमीकमजोरी हो ।

‘सीआइबीको हालसम्मको अनुसन्धानअनुार अभिकर्ताकै मिलेमत्तो देखिएको छ । त्यस्तो अभिकर्ताबाट आएको अण्डरराइटिङ कसरी भयो,’ उनले भने, ‘पहिलो अण्डरराइटर अभिकर्ता हो, दोस्रो कम्पनीको विभाग हो ।’

कम्पनीबाट आवश्यक विवरण प्राप्त भएपश्चात कानूनले भने बमोजिम कारबाही गरिने उनको भनाइ छ ।

बाँके कोहलपुरका सर्जन विकले रिलायन्स लाइफ इन्स्योरेन्सबाट बीमा गरेका थिए । विकले १ करोड २० लाख रूपैयाँको सावधिक जीवन बीमा र ३० लाख रूपैयाँको म्यादी जीवन बीमा योजना किनेका थिए ।

विकको मृत्यु योजनावद्ध रूपमा भएको सीआईबीको अनुसन्धानले देखाएको छ । नक्कली विहे र मृत्युको पछाडि बीमा जोडिएको सीआईबीको भनाइ छ ।

सावधिक जीवन बीमा योजना अन्तर्गत ७० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्णअशक्तता प्रिमियम छुट लाभ पनि जोडिएको थियो । यस्तै, म्यादी जीवन बीमामा ३० लाख रूपैयाँको आकस्मिक मृत्यु लाभ र पूर्णअशक्तता प्रिमियम छुट लाभ करार रहेको थियो ।

विकले प्रथम बीमाशुल्कवापत ५ लाख ४० हजार रूपैयाँ भुक्तानी गरेका थिए ।

दुर्घटनाबाट मृत्यू भएपछि विकले इच्छाएको व्यक्ति उनकी श्रीमति भनिने सपना मल्ललाई कम्पनीले २ करोड ५० हजार रूपैयाँ दाबी भुक्तानी दिएको थियो ।


क्लिकमान्डु