साढे २ करोडको बीमा रकम लिन नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ



काठमाडौं । बीमा रकम लिनका लागि नक्कली विवाह गरी युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली विवाह दर्ता गरी बीमाबाट साढे २ करोड रूपैयाँ लिने कार्यमा संलग्न भएको अभियोगमा ६ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात बीमामा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन् ।

विकलाई डिपेनडेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई विाह दर्ता गराईएको सीआईबीले जनाएको छ ।

मृतक बीमित सर्जन बिकको नाममा रिलायन्स लाइफ इन्स्योरेन्सबाट सवाधिक जीवन बीमा योजना खरिद गरिएको थियो । सर्जन बिकको श्रीमती भनिएकी सपना मल्ललाई इच्छाइर्एको व्यक्ति राखिएको थियो ।

अभिकर्ता सरदार अहमद खाँबाट बिकको नाममा पोलिसी जारी भएको थियो । प्रथम बीमाशुल्क ५ लाख ४० हजार उनै अभिकर्ता खाँले तिरेका थिए ।

ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । इन्स्योरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भयो ।

मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई १ महिना कैद र २ हजार रूपैयाँ जरिवाना गरी छाडिएको थियो ।

त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो । आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ ।

सीआईबिले मृतकको श्रीमती सपना मल्ल अध्ययनका लागि जापान जाँदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । अन्य पाँच जनालाई भने कोहलपुरबाट प्रक्राउ गरेको थियो ।

मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेश गरी गिरोहले रिलायन्स लाइफ इन्स्योरेन्सबाट २ करोड ५० लाख रूपैयाँ भुक्तानी लिएका थिए ।

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्स्योरेन्स कम्पनीले २ करोड ५० लाख रूपैयाँ भुक्तानी दिएको थियो । उक्त रकम हत्यामा संग्लनहरूले बाँडफाँट गरी लगेको प्रहरीले जनाएको छ ।

हत्यापछि इन्स्योरेन्स कम्पनीबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।

सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । विकलाई अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो ।

त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

सीआईबीकाअनुसार सन्जीब अर्यालले ८० लाख ३६ हजार, दीपक केसीले ६० लाख, छबीकुमारी खत्री ९सपना मल्लको आमा० ले १७ लाख ४६ हजार, सपना मल्लले ८६ लाख ८९ हजार, एटिएम कार्ड ३ लाख ३ हजार, पीओएस २ लाख ६९ हजार ९८० र ब्यालेन्स रिचार्ज ५ हजार ३१६ गरी बाँडफाँट भएको प्रहरीको भनाइ छ ।


क्लिकमान्डु