नेपाल वायुसेवा निगमको घाटा पौने ५ अर्ब पुग्यो, अघिल्लो वर्षभन्दा १ अर्ब बढी



काठमाडौं । नेपाल वायुसेवा निगमको घाटा गत आवमा पौने ५ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो आवसम्ममा ३ अर्ब ६६ करोड रुपैयाँ घाटामा रहेको निगमको घाटा गत आवमा १ अर्ब १३ करोड रुपैयाँले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।

निगमका अध्यक्ष युवराज अधिकारी केही दिन अघि निगमले ८ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको र आफू आएपछि वित्तीय अवस्था सुधार भएको बताएका थिए ।

तर अधिकारीको भनाइ विपरीत गत आवमा नेपाल वायु सेवा निगमको अनुमानित वित्तीय विवरणमा भने अधिकारीको पालामा घाटा अझ बढेको देखिएको हो ।

निगमको घाटा आर्थिक वर्ष २०७७÷७८ मा कुल ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ र आव २०७६÷७७ मा ३ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ थियो ।

निगम अध्यक्ष भइसकेपछि अधिकारीले १ सय जनाभन्दा बढी कर्मचारीहरु करारमा भर्ना गरेको तथा विभिन्न शीर्षकमा अनावश्यक खर्च गरेपछि घाटा बढेको हो ।

गत आवमा निगमले अपरेटिङ आम्दानी वापत १२ अर्ब ४५ करोड ७३ लाख रुपेयाँ आम्दानी गरेको छ ।

जबकी उडान, बीमा प्रिमियम, भाडा खर्च, ममर्त तथा सम्भार, कस्टमर सर्भिस, ह्रासकट्टी, प्रशासनिक तथा सामान्य खर्चका साथै एजेन्सी इन्टरलाइन कमिसनमा भने १३ अर्ब ७५ करोड ५७ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु