कृषिमा बढ्दो अनुदानले घटाउन सकेन आयात, खाद्यान्नमा धान र चामलको हिस्सा ६२ प्रतिशत



काठमाडौं । सरकारले हरेक वर्ष अनुदानको आकार बढाउँदै लगेको छ । तर, अनुदानको आकार बढाउँदै लैजाँदा आयात अपेक्षाकृत रुपमा घट्न सकेको भने छैन ।

नेपाली जनताले खाने प्रमुख खाद्यान्न नै उच्च रुपमा आयात बढ्दा अनुदानको योगदान भने लगभग शून्य जस्तै छ ।

पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्ने हो भने सरकारले हरेक वर्ष अनुदानको आकार बढाउँदै लगेको देखिन्छ ।

जसमा सरकारले आव २०७४/७५ मा देशभर ८ अर्ब ७६ करोड रुपैयाँ, आव २०७५/७६ मा १२ अर्ब २९ करोड रुपैयाँ, आव २०७६/७७ मा १६ अर्ब ८३ करोड रुपैयाँ, आव २०७७/७८ मा १९ अर्ब ६८ करोड र आव २०७८/७९ मा २२ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

५ वर्षको अन्तरालमा बजेटको आकार करिब तेब्बरले बढेको छ भने आयातको आकार दोब्बरले बढेको छ ।

सरकारले गत वर्ष २२ अर्ब अनुदान दिँदा मुख्य बाली नै ७४ अर्बको आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँ बराबरको १ अर्ब ८८ करोड ३३ लाख ८० हजार ५७५ केजी खाद्यान्न आयात गरेको हो ।

उक्त आयातित खाद्यान्नबाट नेपालले ५ अर्ब ७ करोड ६७ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा भने करिब ५ अर्ब रुपैयाँले कम खाद्यान्न आयात भएको तथ्याङ्कले उल्लेख गर्दछ । सो वर्ष नेपालले ७९ अर्ब ५९ करोड २७ लाख रुपैयाँको खाद्यान्न आयात गरेको थियो ।

त्यस्तै, नेपालले आव २०७६/७७ मा ६५ अर्ब २ करोड ७९ लाख रुपैयाँको, आव २०७५/७६ मा ५१ अर्ब ८० करोड २४ लाख रुपैयाँको र आव २०७४/७५ मा ४४ अर्ब ५८ करोड ४२ लाख रुपैयाँको खाद्यान्न आयात गरेको थियो ।

तथ्याङ्क हेर्दा हरेक वर्ष आयातको ग्राफ बढ्दै गएको देखिन्छ । तर, गत वर्ष केही मात्राले आयातमा कमी आएको विभागको भनाइ छ ।

खाद्यान्न आयातमा धान र चामलको हिस्सा ६२ प्रतिशत
नेपालले गत वर्ष ७४ अर्बको खाद्यान्न आयात गर्दा ४६ अर्ब ३ करोड ७१ लाख रुपैयाँको १ अर्ब ८ करोड १ लाख ३० हजार केजी धान र चामल आयात भएको छ । जुन खाद्यान्न आयातको ६२ प्रतिशत हिस्सा हो ।

नेपालले सो अवधिमा १६ अर्ब ९९ करोड रुपैयाँको धान र २९ अर्ब ४ करोड ५८ लाख रुपैयाँको चामल आयात गरेको छ ।

त्यसैगरी, ६ अर्ब ३२ करोड ६२ लाख रुपैयाँको गहुँ, २ करोड २० लाखको जौ, १९ अर्ब ६४ करोड ९६ लाख रुपैयाँको मकै, १ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको चिउरा, ३ करोड ९९ लाख रुपैयाँको कोदो र ६६ करोड ८५ लाख रुपैयाँको अन्य खाद्यान्न आयात गरेको छ ।

७२ अर्बको मात्रै भारतबाट आयात
नेपालले ७४ अर्बको खाद्यान्न आयात गर्दा भारतबाट मात्रै ७२ अर्ब ७६ करोड २७ लाख रुपैयाँको खाद्यान्न आयात गरेको छ ।

त्यसपछि ९० करोड ६१ लाख रुपैयाँ अर्जेन्टिनाबाट, ६ करोड ४३ लाख रुपैयाँको ६९ हजारको ब्राजिलबाट, ३ करोड ५० लाख रुपैयाँको चीनबाट, १४ करोड ५८ लाख रुपैयाँको फिलिपिन्सबाट, १५ करोड १७ लाख ७१ हजार रुपैयाँको टर्कीबाट र २० करोड ३६ रुपैयाँको अमेरिबाट खाद्यान्न आयात भएको छ ।


क्लिकमान्डु