एभरेष्ट बैंकले ऋणपत्र निष्कासन गर्ने, साढे १०% पाइन्छ ब्याज



काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिका लागि १०.५० प्रतिशत ब्याज पाइने ‘एभरेष्ट बैंक डिबेन्चर २०८५’ निष्कासन गर्ने भएको छ ।

बैंकले साउन १८ बाट २२ गतेसम्म आवेदन दिन मिल्ने गरी २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा १२ लाख कित्ता बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ भने ८ लाख कित्तामा सर्वसाधारणका लागि छुट्याइएको छ । जसबाट पनि सामूहिक लगानी कोषलाई ४० हजार कित्ता रहेको छ । बाँकी रहेको ७ लाख ६० हजार कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसको ब्याजदर वार्षिक १०.५० प्रतिशत रहेको छ । कित्ता कित्ता एक हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ । साउन २२ गतेसम्म आवेदन दिने भनेपनि माग अनुसार आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यपिटल रहेको छ ।ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु