५०० वर्ष पुरानो इतिहास बोकेको ‘बेनी बजार’को कथा



गोरेटो बाटोमा स्याउलाले बारेको र खरले छाएको छाप्रे चिया पसल। एक मोहोर तिरेपछि एक गिलास चिया पिउन पाइने। मान्छेको कोलाहल र खच्चर हिँड्दा घाँटीमा झुण्डाइएका घण्टी बजेपछि आउने चर्को आवाजले बिहान ४ बजेदेखि नै गुञ्‍जायमान हुने बाटो र सुरु हुने बाटाको दायाँबायाँ बनाइएका अस्थायी छाप्रामा घुम्ती व्यापारीको दिनचर्या।

४०/५० वर्षअघि यस्तै अवस्था थियो। सरकारी कर्मचारी, गाउँका साहु महाजन र मुक्तिनाथ दर्शनका लागि आएका धनीमानी व्यक्ति घोडामा सवार हुन्थे। भरिया, तीर्थयात्री र मजदूरी गर्न ओहोरदोहोर गर्ने व्यक्ति पैदलमा हुन्थे र पिठ्यूँमा डोकाभरिको सामान बोक्थे। भरिया र ढाक्रेहरू भारी बोकेर हिँड्दा हिँड्दै जहाँ रात पर्छ त्यही भारी बिसाउँथे। पाए ठाँटी, नपाए चौतारी वा रुखको फेदमा नै खाना पकाएर खान्थे र सुत्थे। खल्तीमा पैसा हुने र घोडामा सवार भएकाहरू होटलमा बास बस्थे।

यो अहिलेको बेनी–जोमसोम सडक बन्‍नुभन्दा पहिलाको वास्तविकता हो जति बेला म्याग्दी र मुस्ताङमा कुनै पनि सडक खनिएका थिएनन् तर अहिले यहाँको अवस्था फेरिएको छ। पैदल हिँड्ने बाटाको नामोनिसान छैन। फराकिलो सडक बनेको छ। सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोव मेटिएका छन्।

उहिले बेनी नेपाल–भोट व्यापारको प्रमुख नाका थियो। बेनीमा बजार विस्तार भइसकेको थिएन। खर र ढुङ्गाले छाएका केही घर मात्र थिए। अस्थायी मण्डी र साप्ताहिक हाटबजार लाग्‍ने गर्थ्यो। त्यही मण्डी र हाटबजारमा खरिदबिक्री गर्न बुटवलबाट स्याङ्जाको सेती दोभान र पर्वतको कुस्मा हुँदै सामान आयात गरिन्थ्यो। म्याग्दी र मुस्ताङमा दैनिक उपभोग्य देखि निर्माण सामग्री पुर्‍याउनका लागि प्रयोग हुने मुख्य नाका नै बेनी बजार रहेको त्यतिबेलाका जानकार बताउँछन्।

मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७औंँ शताब्दीमा स्थापना भएको हो। विसं १६३१ मा पर्वत राज्यको बिखण्डन भयो। सोह्र हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए। राजा राजबम मल्लले पर्वत राज्य सम्हाले। उनैले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्‍चालनको खर्चको खोजी गर्दा बेनीले व्यावसायिक यात्राको सुरुवात गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गरेका छन्।

तत्कालीन समयमा बेनी बजार चौबाटामा पर्थ्यो। मुस्ताङ, बागलुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजाबमले व्यापारको अड्कल लगाए। खानी सञ्‍चालनमा आए।

ज्यामरुककोटबाट ल्याइएका कालीगढले तामा र फलाम निकाल्न थाले। तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन, नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकासनिर्माणका सामानको व्यापारिक केन्द्र नै बनेको छ।

विसं २०६४ मा नेपाली सेनाले साधारण मार्ग खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी-जोमसोम सडकमा गाडी गुड्न थाले। बेनी–जोमसोम सडकका क्षेत्रमा रहेका आधा दर्जन बढी अस्थायी बजार र पदमार्ग मासिए पनि म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो।

बेनीबाट भारी बोकेर मुस्ताङ र मुस्ताङबाट नुन र स्याउ बोकेर बेनी ल्याउन पटकपटक ओहोरदोहोर गरेका बेनी नगरपालिका-२ का ९६ वर्षीय खड्गबहादुर थापा सडक बनेपछि मोटर चढेर एक पटक मुस्ताङ पुगे। भरियाको रूपमा पहिला कयौँ पटक मुस्ताङ पुग्‍नुभएका थापालाई सडकमा गाडी चढेर मुस्ताङ जाँदा अनौठो लाग्यो। ुत्यस बेलाको कुरा सुनाउने हो भने अहिलेका नयाँ पुस्तालाई पत्याउनै कठिन हुन्छ। चारपाँच रुपिँया भयो भने टन्‍न खान पाइन्थ्यो। पिठ्यूँमा भारी बोकेर बेनी-जोमसोम गर्न एक हप्ताभन्दा बढी लाग्थ्यो। डोको बोकेर हिँड्दै जाने, जहाँ पुग्दा रात पर्छ, त्यहींँ बस्‍ने गर्थ्यौँ। ठाँटी भएका ठाउँमा पुगे त्यही ठाँटीमा नत्र यसो रुखमुनि भारी बिसाउँथ्यौँ, त्यही भारीको छेउमा निदाएर बिहानै ४ बजे फेरि भारी बोकेर हिँड्थ्यौंँ,’ थापाले भने।

उनका अनुसार त्यस बेलामा मुस्ताङमा मात्रै होइन, उत्तरी म्याग्दीका विभिन्‍न गाउँमा भारी बोकेर खाद्यान्‍न लगायत सामग्री लैजाने भरिया बढी हुन्थे। तिनले चामल, चिनी, चियापत्ती, नुन, तेललगायत सामान बोकेका हुन्थे। नदी किनारबाट मानवीय सभ्यता र बाटाका छेउबाट व्यापारको सुरुआत भएको मानिन्छ। बेनी-जोमसोम सडकको पुरानो अवस्थालाई अध्ययन गर्ने हो भने कालीगण्डकीका छेउछाउबाट नै थकाली र मगर संस्कृति मौलाएको पाइने बेनीका ८० वर्षीय नैनकुमार श्रेष्ठले बताए।

ुमानवीय सभ्यताहरू नदी छेउछाउबाट सुरु भएका छन्। बिस्तारै मान्छेहरू छिरलिएर बस्न थालेपछि ती सभ्यता पनि बसाइँ सरे वा फैलिएु, श्रेष्ठले भने, ‘समयसंँगै विकास आयो र विकाससंँगै सुविधा। सुविधा पाएपछि मान्छेले सबै भुल्यो, गोरेटो बाटो भुल्यो, चौतारी र ठाँटी बिर्सियो, आफ्ना पुर्खाका पैतालाका डोबलाई फलामे दाँत भएको डोजर लगाएर कोपर्‍यो, सडक बनायो, गाडीमा हुइँकियो।’

उनका अनुसार पहिलो पटक बेनी-जोमसोम सडक बनेपछि भने सवारी साधनमा ओसारपसार र यात्रा हुन थाल्यो। नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्‍न थाले अनि सुरु भयो बजारीकरण। पहिलेपहिले ठाँटी, सत्तल र स्याउले बजार रहेका बेनी-जोमसोम सडक क्षेत्रका गलेश्‍वर, चमेरे, भुरुङ तातोपानी, दाना, लेतेलगायत दर्जनभन्दा बढी ठाउँमा बजार विस्तार भएका छन्।

यता बेनी बजार विस्तारको कथा भने विकाससंँगभन्दा बढी तत्कालीन राजनीति र ऐतिहासिक पृष्ठभूमिसँंग जोडिएको छ। तत्कालीन बाइसे–चौबिसे राजाका पालामा पर्वत राज्यको मुकाम बेनीबजार १७ औँ शताब्दीमा स्थापना भएको हो। अरू बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहे पनि बेनी बजारमा व्यापारको जग कामी समुदायका व्यक्तिले राखेको पाइन्छ। बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुको व्यापार सुरु भएको लेखक तथा इतिहासकार बानिया बताउँछन्।

उनका अनुसार अहिलेको म्याग्दीमा पर्ने बेनीबजार सुरुमा बगर थियो। ुपर्वत बेनीमा पर्ने कालीगण्डकीका तीरबाट व्यापार सुरु भएको हो। पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छु, बानियाँले आफ्ना कृतिमा लेखेका छन्। उनका अनुसार पर्वत राज्यका सातौँ राजा मलेबम मल्लले पहिले बेनीबजारभन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे। उनको राजकाज त्यहींँबाट हुन थाल्यो र कर उठाउन थाले। त्यसपछि बेनीको व्यापार थप बढेको थियो। बाइसे-चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ। बेनीमा टक्सार (मुद्रा काट्ने यन्त्र) राखेर मुद्राको प्रचलन सुरु गरिएको इतिहास छ।

करिब पाँच सय वर्षको इतिहास रहेको बेनीबजारले अहिलेसम्म पनि आफ्नो साख जोगाइरहेको छ। पैदल हिँडे घोरेपानीको बाटो हो, नत्र बेनी बजार म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो। पछिल्लो समय जिल्लाका गाउँगाउँसम्म सडक पुगेका छन्। राज्यको पुनःसंरचना भएपछि पालिका मुकाम बनेका छन् तर बेनी बजार भने यी सबै परिवर्तनसँग अनुकूलित हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ बताउँछन्। विसं २०१७ मा म्याग्दी वेणी र पर्वत वेणीलाई जोड्ने गरी म्याग्दी खोलामा पुल बनेपछि बेनी बजारको व्यापारले गति लिएको श्रेष्ठको भनाइ छ।

अहिले पनि बेनी बजारको व्यापारमा कुनै कमी आएको छैन। गाउँगाउँमा बजार विस्तार भए पनि ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा बेनीबजार सदाबहार नै छ। मुस्ताङको स्याउ र च्याङ्ग्राको मुख्य बजार बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्‍न पनि बेनीबाट नै वितरित हुने गर्छ। बेनी–जोमसोम खण्डमा पर्ने पोखरे बगर बजारले पनि आफ्नै लय समातेको छ।

विकासको क्रमसँगै गाउँगाउँमा सडक खनिन थाले। सडकका कारण बजार बन्‍न थाल्यो र मानिस गाउँ छाडेर बजारमा सर्न थाले जसका कारण ऐतिहासिक नाका र पुराना बजारको मुहार अहिले देख्‍न नपाइने भए पनि बेनीबजार अपवादका रूपमा रहेको स्थानीयवासी बताउँछन्। बजारलाई विकेन्द्रित गरिएपछि सुनसान बनेका गाउँ हराभरा भएका छन्। बाँझा छाडिएका जग्गामा खेती हुन थालेको छ। संघीयताको आधार मानिएको विकेन्द्रीकरणको नीतिले गाउँ बजारसंँग जोडिए पनि तिनको मौलिकता र पुर्‍ख्यौली पहिचान हराएकामा बुढापाकाले चिन्ता व्यक्त गरेका छन्।

पुराना बजार र नाकामध्ये कतिपयलाई नयाँ सडकले छोए त कतिपय छलिए। नयाँ मोटर बाटा खनिए पनि जहाँजहाँ पुराना बजारलाई छोएर गएको छ, त्यस ठाउँमा भने परम्परागत बजारका ठाउँमा झनै विकसित र आधुनिक बजार स्थापित भएका छन् तर जुन नाका र बजार सडकले छुन सकेन, ती विस्थापित भएका छन्। ती ठाउँमा न बजार बसे, न पदमार्ग नै सुरक्षित भए।


क्लिकमाण्डू