प्रहरीले समितिलाई फिर्ता गर्‍यो अर्थ मन्त्रालयको हार्डडिस्क, सिंहदरबार पुग्यो सिलबन्दी फुटेज



काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गतको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको हार्डडिस्क संसदीय छानबिन समितिलाई फिर्ता गरेको छ ।

संसदीय छानबिन समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले प्रहरीले शिलबन्दी गरेर हार्डडिस्क फिर्ता गरेको जानकारी दिए ।

‘समिति सचिवालयलाई प्रहरीले शिलबन्दी गर्दै लाहाछाप लगाएर हार्ड डिक्स फिर्ता गरेको छ,’ अर्यालले भने, ‘भोलि बिहान ८ बजे बस्ने समितिको बैठकमा उक्त शिल खालेर फुटेज रिकभर भए÷नभएको हेरिन्छ ।’

समितिले गत साउन ४ गते केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालालाई सीसीटीभी फुटेज रिकभर गरिदिन आग्रह गर्दै अर्थ मन्त्रालयबाट प्राप्त हार्डडिस्क दिएको छ ।

अर्थ मन्त्रालयले समितिलाई दिएको हार्डडिक्समा असारको मात्रै सीसीटीभी फुटेज भेटिएपछि समितिले हार्डडिक्स रिकभर गर्ने प्रक्रिया शुरु गरेको हो ।

९ दिनसम्म कर्मचारीसँग जानकारी लिनमा केन्द्रित भएको समितिले बुधबार मात्रै केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालालाई हार्डडिस्क उपलब्ध गराएको हो ।

छानबिन समितिका सदस्य सचिव समेत रहेका अर्थ समितिका सचिव समितिको भोलिको बैठकमा हार्डडिक्सबाट फुटेज रिकभर भए÷नभएको र अनुसन्धान कसरी अगाडि बढ्ने भनेर टुंगो लाग्ने बताउँछन् ।

समितिको आजको बैठकमा अनुसन्धान कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएपनि कुनै निर्णय नभएको समितिका सचिव अर्यालले जानकारी दिए ।

अर्थमन्त्री शर्माले राजीनामा दिएको दिन असार २२ बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको थियो ।

समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव सदस्य थिए ।

समिति सदस्य पुष्पा भुषाल उपसभामुखमा निर्वाचित भएपछि भुषालको स्थानमा मानबहादुर विश्वकर्मा सदस्य चयन भएका छन् ।

समितिको पहिलो बैठक असार २८ गते बसेको थियो । त्यसयता समितिले निरन्तर शर्माको विषयमा छानबिन गरिरहेको छ ।

शुरुमा १० दिनको समय पाएको समितिले निर्धारित समयभित्र अनुसन्धान सम्पन्न गर्न नसकेपछि गत साउन ५ गते एकसाताको समय थप गरिएको थियो । एक साताको थपिएको समय पनि बुधबार समाप्त हुँदैछ ।


क्लिकमान्डु