मौद्रिक नीतिपछि सेयर बजारमा उछाल कायमै, कारोबार रकम पनि बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएपछिको दोस्रो कारोबारमा पनि सेयर बजारमा उल्लेख्य सुधार आएको छ ।
मौद्रिक नीति आएपछिको पहिलो कारोबारमा उछाल आएको थियो । दोस्रो कारोबारमा पनि उछाल नै देखिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजार सम्बन्धी नीतिलाई केही खुकुलो बनाएलगत्तै सेयर बजारमा उछाल आउन थालेको हो । यसअघि राष्ट बैंकले लिएको नीति हेर्दा झनै कसिलो मौद्रिक नीति आउने हो की भन्ने त्रासमा रहेका लगानीकर्ता उक्त नीति केही सहज र खुकुलो आएपछि बजारमा धमाधम लगानी गर्न लागेका छन् ।

मौद्रिक नीतिले सेयर धितो राखेर एक बैंकबाट लिन पाउने कर्जामा ४ करोडको सीमा हटाइएको छ । एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो । मौद्रिक नीतिले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिएको छ ।

सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ । जसले गर्दापनि बजारमा उछाल आएको लगानीकर्ताहरुको तर्क छ ।

४,१२ करोडको नीतिमा ४ हटाएर १२ करोड कायम रहेको तर त्यो पनि ब्रोकरले मार्जिन लेन्डिङ दिन थालेपछि हटाउने भनेपछि लगानीकर्ता उत्साहित देखिएका छन् । यसअघि राष्ट बैंकको ४,१२ करोडको नीतिबाट निकै त्रसित बनेका थिए । जसको त्रास अब भने कम हुँदै गएकाले पनि बजारमा सुधार देखिएको बताइन्छ ।

साउनको दोस्रो सोमबार बजारमा निकै हरियाली देखिएको छ । बजार मापन गर्ने सूचक ५४.४५ अंकले बढेर परिसूचक २१३२.९६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.०५ अंकले बढेर ४०७.३८ बिन्दुमा रोकिएको छ ।

यो दिनको कारोबार रकम पनि निकै बढेको छ । २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको सेयर किनेबच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको २१.५१, विकास बैंक २१३.३८, जलविद्युत १०७.१३, वित्त १३८.१९, निर्जीबन बीमा १२५.७७, उत्पादन तथा प्रशोधन १७०.०९, माइक्रोफाइनान्स १८५.९८, जीवन बीमा समूहको उपसूचक २१०.७९ अंकले बढेको छ । कारोबारमा करिब दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु