मूल्यबृद्धि १४% ले बढ्ने सर्वसाधारणको बुझाइ



काठमाडौं । आगामी ३ महिनाको अवधिमा झनै मूल्य बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फिति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै आगामी तीन महिनामा मूल्यवृद्धि हुने जनाएको हो ।

राष्ट्र बैंकले २०७९ असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका ११ सय ४१ व्यक्तिहरुसँग प्रतिक्रिया लिएका थिए । सोही आधारमा ९४.७ प्रतिशत आगामी तीन महिनामा मूल्यवृद्धि हुने अनुमान गरेको सर्वेक्षणमा उल्लेख छ ।

‘९४.४ प्रतिशत जवाफ दिने व्यक्तिले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्नेमध्ये अंश चैत, २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने अंश थोरै घटेको छ,’ राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने व्यक्तिहरूको अंश चैत्र, २०७८ को तुलनामा बढेको छ ।

तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने व्यक्तिहरूको अंश चैत्र, २०७८ को तुलनामा घटेको छ ।

तीन महिना पछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ ।

तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन् ।


क्लिकमान्डु