एनसीसी बैंकको नाफा ५२% ले बढ्यो, लाभांश दिन सक्ने क्षमता १३.२३%
काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षमा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.९८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४२ लाख ८७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । गत आवको नाफाबाट बैंकको लाभांश दिन सक्ने क्षमता १३.२३ प्रतिशत देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको बढोत्तरीले बैंकको नाफा बढाउन सहयोग गरेको छ । एनसीसीको खुद ब्याज आम्दानी ३ अर्ब १४ करोड ९८ लाख ८५ हजार रुपैयाँबाट बढेर ४ अर्ब १५ करोड ५६ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन मुनाफा १ अर्ब ९२ करोड २६ हजार रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड २१ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८४ करोड ९६ लाख २२ हजार रुपैयाँ रहेको छ ।
एक वर्षमा बैंकले १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । असार मसान्तसम्म प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा रहेको छ ।