नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन भारतीय राजदूतलाई मन्त्री श्रेष्ठको आग्रह



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

भेटमा मन्त्री श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण क्षमतामा संचालनका लागि नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन राजदुत श्रीवास्तवसँग आग्रह गरेका छन् ।

नयाँ हवाई प्रवेश विन्दु उपलब्ध भएमा उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

राजदुत श्रीवास्तवले नयाँ हवाई प्रवेश विन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास दिलाए । भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थलहरुलाई जोड्ने रामायण सर्किट सम्वन्धी पुर्वाधार निर्माण अघि बढाउनेबारे उनीहरुबीच छलफल भएको छ ।

मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको रहेको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

मन्त्री श्रेष्ठले राजदूत श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले दुबै देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताए ।

रामायण सर्किटले धार्मिक पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । जनकपुरको धार्मिक तथा पौराणिक महत्व झल्काउँदै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकास सम्वन्धी परियोजना अघि बढाउनेबारे उनीहरुबीच छलफल भएको छ ।

भूकम्पबाट क्षति भएका संरचना पुनर्निमाणमा भारतीय सहयोगमा संचालित परियोजनाको अवस्थाबारे उनीहरुबीच कुराकानी भएको छ ।


क्लिकमान्डु