मेरो सेयर एप अब आईओएसमा पनि, आगामी सातादेखि सञ्चालनमा आउने



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले सेयर कारोबार सहज बनाउन आईओएसबाट पनि प्रयोग गर्न मिल्ने ‘मेरो सेयर’ एप ल्याउने भएको छ ।

सिडिएससीले २०७७ असोज पहिलो साता मेरो सेयरको एप ल्याएको हो । उक्त एप अहिले एन्ड्रोइडमा मात्रै प्रयोग हुने गरेको थियो । अब भने आईओएसमा पनि उपलब्ध हुने भएको छ ।

हालसम्म ‘गुगल प्ले स्टोर’ मा अपलोड रहेको एप बढीमा एक साता भित्र आईओएसमा पनि अपलोड हुने भएको छ ।सिडिएससीका अनुसार आईओएस मोबाइल फोन प्रयोगकर्ताले आगामी सातादेखि मेरो सेयर मोबाइल एप प्रयोग गर्न पाउने भएका छन् ।

अहिले त्यसको निर्माणकार्य अन्तिम चरणमा रहेको बताइएको छ । आईओएसमा मिल्ने खालको एप एफ वान सफ्ट कम्पनीले नै निर्माण गरिरहेको छ । यो एप निर्माण भएपपछि आईओएस भर्सनका फोन बोक्नेहरुले पनि मोबाइलबाट नै मेरो सेयर प्रयोग गर्न सक्नेछन् ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पुर्ण प्रसाद आचार्यका अनुसार लामो समयदेखि निर्माण भएको एप अब निर्माणको अन्तिम चरणमा रहेको छ ।

लगानीकर्ताले सेयर विवरण, बजार मूल्यको पोर्टफोलियो, आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औषत लागत गणना, इडीआइएस जस्ता सुविधा एपमा पाउनेछन् ।

पछिल्लो समय सेयर बजार पूर्ण रुपमा अनलाइन मैत्री बन्दै जाँदा यो एप आवश्यक भएको सिडिएससीको भनाइ छ ।

सिडिएससीका अनुसार अहिलेसम्म ४३ लाख ६८ हजार ६३९ जना मेरो सेयर प्रयोगकर्ता रहेका छन् । डिम्याट खाता खोल्ने सेयर लगानीकर्ताको संख्या ५२ लाख ६० हजार २५१ जना पुगेका छन् ।


क्लिकमान्डु