दुईदिनमा वाणिज्य बैंकबाट ५९ अर्ब निक्षेप घट्यो, सीडी रेसियो बढ्यो



काठमाडौं । दुईदिनमा वाणिज्य बैैंकबाट ५९ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा असार मसान्तसम्ममा ५१ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप थियो ।

साउन २ गते आइपुग्दा बैंक तथा वित्तीय संस्थामा ५० खर्ब ९० अर्ब रुपैयाँ निक्षेप छ । यस्तै वाणिज्य बैंकमा ४५ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप थियो । जुन साउन २ गते ४४ खर्ब ८१ अर्बमा झरेको छ ।

असार मसान्तपछि ऋण समेत घटेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ऋण दिएका थिए । जसमा वाणिज्य बैंकले मात्र ४१ खर्ब ६८ अर्ब ऋण दिएका थिए । साउन २ मा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको ऋण ४६ खर्ब ९६ अर्ब तथा वाणिज्य बैंकको ४१ खर्ब ६५ अर्बमा झरेको छ ।

निक्षेप घटेको कारण असार मसान्तमा ८६.२२ प्रतिशतमा झरेको कर्जा निक्षेप अनुपात ८७.८० प्रतिशतमा पुगेको छ ।

वाणिज्य बैंकहरुले असार मसान्तमा स्थानीय तहको कोषमा रहेको ८० प्रतिशतको रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । यस्तै ऋणपत्रलाई बैंकहरुले पूँजीकोष तथा निक्षेपमा समेत गणना गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको थियो ।

राष्ट्र बैंकले साउन १ देखि लागू हुने गरेर स्थानीय तहको कोषको पैसालाई निक्षेपमा गणना गर्न नपाउने तथा ऋणपत्रलाई निक्षेपको स्रोत वा पूँजीकोष अनुपात एउटामा मात्र देखाउन पाउने व्यवस्था गरेको थियो ।

बैंकरहरुले मौद्रिक नीतिमा स्थानीय तहको कोषको ८० प्रतिशतसम्म रकम गणना गर्न पाउने तथा ऋणपत्रलाई निक्षेप तथा पूँजीकोष दुवैमा गणना गर्न दिन पाउने माग गरेका छन् ।


क्लिकमान्डु