जगदम्बा स्टिलको ६ महिनाको कारोबार २१ अर्ब, ३४ अर्ब ३७ करोड ऋण



काठमाडौं । जगदम्बा स्टिल प्रालिले सन् २०२२ को ६ महिनाको अवधिमै साढे २१ अर्ब बढीको कारोबार गरेको छ । कम्पनीले सन् २०२२ को ६ महिनामा २१ अर्ब ६६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको जनाएको छ ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालअनुसार कम्पनीले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२० मा २१ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको थियो । साथै, सन् २०१९ मा ३५ अर्ब ८७ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको भनाइ छ ।

कोरोना महामारीको समयमा कम कारोबार गरेको कम्पनीले सन् २०२२ मा उच्च कारोबार गर्ने भएको छ । व्यवसायिक घराना शंकर ग्रुपको लगानी रहेको विगत दुई दशकबाट स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०२१ मा ४० प्रतिशतले बढी कारोबार गरेको थियो । जसमा कम्पनीले ७.७ प्रतिशत नाफा कमाएको छ । त्यसैगरी, सन् २०२२ को ६ महिनाको अवधिमा कम्पनीले १३.२ प्रतिशतले नाफा कमाउने जनाएको छ ।

कम्पनीले विभिन्न देशबाट एमएस ब्लेड, स्पञ्ज आइरन आयात गरी स्टिल उत्पादन गर्दै आएका छन् । कम्पनीले उक्त आयातित कच्चा पदार्थबाट टीएमटी बार, एन्गल्स्, सेक्सन, पाइप, शटर प्रोफाइल, कोयल, सिट्स् र विभिन्न प्रकारका तार उत्पादन गरी आन्तरिक बजारमा बिक्री गर्दै आएका छन् ।

त्यस्तै कम्पनीले जगदम्बा इ, राइनो ५००डी, जगदम्बा सुपर साइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा पाइप र जगदम्बा वायर ब्रान्डमा विभिन्न सामग्री बिक्री गर्दै आएको जनाएको छ ।

वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले सन् २०२२ बाट निर्यातसमेत गर्न थालेको छ । जीतपुर सिमारा–२ बारामा उद्योग रहेको यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँको रेटिङ गरेको छ ।

जसका कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब ९९ करोड ७३ लाख अर्थात् ट्रीपल बी र अल्पकालीन कर्जाका लागि २८ अर्ब ३७ करोड ६२ लाख अर्थात् एथ्री प्लस रेटिङ पाएको छ ।


क्लिकमान्डु