औद्योगिक उत्पादन क्षमता झन खस्कियो, ब्याजदरमा वृद्धि




काठमाडौं । मुलुकमा लगानी योग्य रकमको अभाव भइरहँदा औद्योगिक उत्पादन क्षमता झन खस्किएको छ ।

नेपाल उद्योग परिसंघले गरेको एक अध्ययन अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्था झन खस्किएको हो ।

परिसंघले सोमबार नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अंक सार्वजनिक गरेको छ । प्रतिवेदनमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको बारेमा विस्तृत तथ्यांक समेटिएको छ ।

प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको छ ।
यस अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको छ । दोश्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो ।

यो अध्ययन माघ, फागुन र चैत्र महिनामा गरिएको हो । यस अवधिमा उत्पादनमूलक उद्योगले औषतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ ।

उत्पादनमूलक उद्योगहरुले आफ्नो चालु पूँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रौमासमा चालु पूँजी ३४.४ प्रतिशत ऋण लिएका थिए ।

अध्ययनमा सहभागीमध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् । प्रतिवेदनले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासको तुलनामा चालु त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२ प्रतिशत रहेको देखाएको छ । दोश्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो ।

औद्योगिक अवस्थाको अध्ययन गरिएको यो प्रतिवेदन यस वर्षको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको परिसंघले जनाएको छ । मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा दिएको सुझावसमेत प्रतिवेदनमा समावेश छ ।

प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यस प्रकारको नियमित औद्योगिक प्रतिवेदनले नेपालको औद्योगिक वातावरणको चित्रण गर्न सहयोग पुग्ने बताए ।

मन्त्री बडूले उद्योगमा प्रयोग हुने जेनेरेटरले खपत गर्ने तेलको परीणाम प्रष्ट्याउने र हाल उद्योगमा रहेका कोइलाबाट चल्ने बोइलरलाई बिजुलीबाट प्रतिस्थापन गर्न लाग्ने लागतको सन्दर्भमा समेत अनुसन्धान हुन जरुरी रहेको बताए ।  

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजार मागमा उल्लेख्य गिरावट आएको र यसले उद्योगको आयमा ह्रास ल्याएको बताए । उनले यसप्रति संवेदनशिल हुन सरकारलाइ आग्रह गरे ।

उनले निजी क्षेत्रको तर्फबाट नेपालमै पहिलो पटक परिसघंले सर्वेक्षण गरेर औद्योगिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताए।

परिसंघ अन्तर्गतको रिसर्च सेलले उद्योगहरुसँगको सर्वेक्षणको आधारमा प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदनले नेपालमा तथ्यमा आधारित नीति निर्माणका लागि सहयोग पुग्ने परिसंघको भनाइ छ ।


क्लिकमान्डु