कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भयोः उपमहासचिव ज्ञवाली



काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउनका लागि नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए ।

उनले अहिले गभर्नरमाथि बनाइएका बहाना भन्नेकुरा मात्रै रहेको उल्लेख गरे । उपमहासचिव ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको दाबी गरे । उनले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुई थरि तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको आरोप लगाए ।

‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो । हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के ? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, श्रोत देखाउनुस् भन्यो श्रोत देखाउन सक्दैन । १७÷१८ वटा फेक कम्पनीहरु छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरु कुनैपनि महत्व छैन । यो श्रोत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नु । त्यो गर्न नमाने बापत् राष्ट्र बैंकमाथि हमला भएको हो ’ उनले भने, ‘अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् । आर्थिक हिसावले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको छ । मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन । मन्त्री पनि भएँ, सांसद पनि छु तर मेरो घरमा दुई थरि तरकारी बनाउने स्थिति छैन भने अरुको के होला ? बनावटी अभाव मलको चर्को छ ।’

उपमहासचिव ज्ञवालीले राज्य डरलाग्दो रुपमा विचौलियाहरुको नियन्त्रणमा जान थालेको बताए । उनले अहिलेको गठबन्धन सरकाराई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तिय गठबन्धनले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप लगाए । उपमहासचिव ज्ञवालीले अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उल्लेख गरे । उनले हातहतियार सम्बन्धी सामाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा उल्लेखित वाक्य र व्यक्तिको दुःशासहसले नै अहिलेको गठबन्धनको तस्बीर देखाउने बताए ।

उनले भिडियो पुरानै भएको खण्डमा पनि अहिलेको सरकारको अवस्था त्यो भन्दा फरक नरहेको जिकिर गरे । ज्ञवालीले उक्त भिडियोले नेपालको अहिलेको कुरुप तस्बीर देखाएको बताए । उनले राज्यले एकथरि उद्योगलाई लाभैलाभ र अर्कोथरिलाई बन्द गर्नुपर्ने अवस्थामा पु¥याएको दाबी गरे । उनले अहिले सिंगो अर्थतन्त्र केही मुठीभर व्यक्तिको नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको भन्दै गठबन्धन सरकारको एकवर्षलाई देशको लागि कुशासन र बरबादीको वर्षको रुपमा चित्रण गरे ।

उपमहासचिव ज्ञवालीले सरकार विद्युतीय सवारीसाधन मुख्य शहरमा चलाउने कुरामा गैर जिम्मेवार भएर बसिरहेको आरोप लगाए । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करका दर हेरफेर गरेको र सिसिटिभी फुटेज मेटाएको विषयमा गहिराईमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे ।


क्लिकमान्डु