घोराही सिमेन्टले प्रिमियम मूल्यमा आइपीओ ल्याउने



काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्ने भएको छ ।

कम्पनीले ७९ लाख ४३ हजार कित्ता सेयर निष्कासनका लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौता धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

२०६४ सालमा दर्ता भई २०६९ सालदेखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट कम्पनी दाङ जिल्लामा रहेको छ । कम्पनीले सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

त्रिवेणी र बिशाल समुहबाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमा पर्ने बताइएको छ । हाल कम्पनीले नेपालमा सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।


क्लिकमान्डु