कुहिने र नकुहिने फोहोर एकै ठाँउमा फाल्दै हुनुहुन्छ ? तिर्नुपर्ला हर्जना



काठमाडौं । काठमाडौं महानगरले आजदेखि छुट्टिएको फोहोर मात्र संकलन गर्न थालेको छ ।

फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा संकलन गर्न, तोकिएको समय र सवारी साधनमा मात्र फोहोर दिन अनुरोध गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले यो सामान्य विषय भएको बताए । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्ने बताए ।

फोहोर छुट््याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको बताए । ‘वास्तवमा एकछिनको सजिलोका लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौँ’ उनले भने ‘व्यवहारका कारण फोहोर व्यवस्थापन असहज भएको छ । हामीले उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकीय जीवन भोगिरहेका छन् । यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो ।’

अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग–अलग भाँडोमा संकलन गरिदिन आग्रह गरेका छन् । तालिका अनुसार आएका फोहोर संकलन गर्ने गाडीहरुमा सोही अनुसार फोहोर फाल्न आग्रह गरिएको छ । ‘हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमशः थप सहज र वैज्ञानिक बनाउँदै जानेछौं’ उनले भने ।

साँघुरा कोठामा जीवन यापन गर्ने परिवारप्रति लक्षित गर्दै प्रमुख शाहले, यसप्रकारका सहजताका लागि महानगरले प्रयास गर्ने बताए । अहिले जे जति स्रोत र साधनहरु छन, ती सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गर्न आग्रह गरे ।

घरमा प्लाष्टिकमा राख्ने गरिएकाले कुहिने फोहोर प्लाष्टिकको पोकोमा निकालियो । फोहोरको यो प्रकृति देखेपछि वातावरण व्यवस्थापन विभागका कर्मचारीहरुले कुहिने फोहोर ल्याउँदा प्लाष्टिकमा पोको नपार्न आग्रह गरेका थिए ।

महानगरले संकलित फोहोर उठाउन क्षेत्र बाँडेर २ वटा रुट बनाएको छ । पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर संकलन गरिनेछ भने मंगलबार नकुहिने फोहोर उठाइनेछ । दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फोेहोर र शुक्रबार नकुहिने फोहोर उठाइनेछ । यसरी हप्ताको ४ दिन कुहिने फोहोर र २ दिन नकुहिने फोहोर संकलन गर्ने तालिकाअनुसार आज कुहिने फोहोर संकलन गरिएको छ । संकलन गरिएको फोहोर प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पु¥याइनेछ । यसरी लगिएको फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ ।

आजबाट कसैले मिसिएको फोहोर निकाल्यो भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना लाग्ने छ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन बमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न लागिएको हो ।

ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

जैविक फोहोरबाट गड्यौलो वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ । पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न सकिन्छ ।

महानगरले नागरिक दायित्वका विषयमा भनेको छ, ‘भान्छामा फोहोर उत्पादन हुने बेलामै कुहिने र नकुहिने गरी २ भागमा बाँड्न सकिन्छ । यसो ग¥यो भने त्यसपछि व्यवस्थापनका पक्षमा सजिलो हुन्छ । अब प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग बढाउनुपर्छ ।’


क्लिकमान्डु