झण्डै १५ हजार करोड लगानीमा २८ महिनामा सकियो भारतमा २९६ किमि लामो एक्सप्रेस वे



एजेन्सी । नेपालमा कुनै पनि आयोजना सम्पन्न गर्नका लागि बर्षौं लाग्छ । समय र लागत बढ्दै जाँदा आयोजनाको उपादेयता पनि क्रमशः कम हुँदै गएको छ । ३५ अर्ब लागतमा निर्माण गर्ने भनिएको माथिल्लो तामाकोशी झण्डै ९० अर्ब बराबर पुगेको छ ।

यस्तै अन्य आयोजनाको हालत पनि उस्तै छ । राष्ट्रिय गौरवका भनिएका आयोजनाको हालतहेर्दा सबै उस्तै उस्तै छ । नेपालमा काठमाडौँ तराई मधेश जोड्ने द्रुर्तमार्गको काम झण्डै ८ वर्षसम्म पनि खासरुपमा अगाडि बढेको छैन । आयोजना कहिले सकिने हो कुनै ठेगान छैन ।

तर, त्यही छिमेकी देश भारतमा भने एक एक्सप्रेस वेको काम २ वर्षको अवधिमै सम्पन्न भएको छ । बुन्देलखण्ड एक्सप्रेसवे भारतको पछिल्लो विकासको एउटा खास उदाहरण हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारमात्रै उत्तर प्रदेशको बुन्देलखण्ड एक्सप्रेसवेको उदघाटन गरेका छन् । यस एक्सप्रेसवेको प्रधानमन्त्री मोदीले फेब्रुअरी २९, २०२० मा शिलान्यास गरेका थिए ।

यो द्रुतमार्ग २८ महिनामा सम्पन्न भएको हो । शनिबार प्रधानमन्त्री मोदीले जलौन जिल्लाको ओराइ तहसीलको कैथरी गाउँमा यसको उदघाटन गरेका थिए ।

चार लेनको बुन्देलखण्ड एक्सप्रेसवे लगभग १४ हजार ८५० करोड भारु बराबरको लगानीमा पूरा भएको छ । पछि सो दु्रर्तमार्गलाई ६ लेन बनाउने योजना छ । यो उत्तर प्रदेश एक्सप्रेसवे औद्योगिक विकास प्राधिकरण अन्तर्गत निर्माण गरिएको हो ।

कूल २९६ किलोमिटर ४ लेनको लामो बुन्देलखण्ड एक्सप्रेसवे सात जिल्ला हुँदै जानेछ । यसमा चित्रकूट, बांदा, महोबा, हमीरपुर, जालौन, औरैया र इटावा समावेश छन् ।

यो एक्सप्रेसवे चित्रकूट जिल्लाको गोंडा गाउँको एनएच ३५ बाट इटावा जिल्लाको कुद्रेल गाउँसम्म जान्छ । यसभन्दा पर यो एक्सप्रेसवे आगरा–लखनऊ एक्सप्रेसवेसँग जोडिएको छ ।

एक्सप्रेसवे शुरु भएपछि चित्रकूटदेखि राजधानी दिल्लीसम्मको यात्रा करिब ८ घण्टामा पूरा गर्न सकिन्छ । यसभन्दा पहिले सो मार्ग भएर यात्रा गर्दा १३ घण्टा भन्दा बढी समय लाग्थ्यो । यो द्रुतमार्ग बनेपछि यात्रुको चारदेखि पाँच घण्टासम्मको बचत हुनेछ ।

यसले कनेक्टिभिटी मात्र नभई आर्थिक वृद्धि र रोजगारी बढाउने सरकारको भनाइ छ ।

द्रुर्तमार्गको दुबै छेउमा औद्योगिक क्षेत्रको विकास गरिनेछ । यसका लागि जलौं र बन्दलाई औद्योगिक हबको रुपमा विकास गरिनेछ ।

बुन्देलखण्ड एक्सप्रेसवेले धेरै नदीहरू पार गरेको छ । यसमा श्यामा, यमुना, बेतवा जस्ता नदीहरू समावेश छन् । कूल २९६ किलोमिटर लामो द्रुतमार्गमा ४ रेलवे ओभरब्रिज, १४ ठूला पुल, २८६ साना पुल र १९ फ्लाईओभर निर्माण भएका छन् । यात्रुहरूले एक्सप्रेसवेमा ६ वटा टोल पनि पार गर्नुपर्नेछ ।

धेरै ठाउँमा पेट्रोल पम्प र सार्वजनिक सुविधाको पनि विकास गरिनेछ ।

बुन्देलखण्ड एक्सप्रेसवेलाई लिएर भाजपालाई निशाना बनाउँदै समाजवादी पार्टीले भनेको छ, ‘सपा सरकारले डिजाइन गरेको आगरा–लखनउ, पूर्वाञ्चल एक्सप्रेसवेमा एयरस्ट्रिप पनि बनाइयो, बुन्देलखण्ड एक्सप्रेसवेमा रनवेले ठाउँ पाएन । गुणस्तरसँग सम्झौता गरेर निर्माण गरिएको बुन्देलखण्ड एक्सप्रेसवेले खास मक्सद पूरा गरेको छैन ।’

बीजेपी सरकारको यो अधूरो एक्सप्रेसवे चित्रकूटसम्म पुग्दैन । यो हो भाजपाको खोक्रो विकास ।

बुन्देलखण्ड एक्सप्रेसवे पछि, उत्तर प्रदेश सरकार २०२५ को कुम्भ मेला अघि गंगा एक्सप्रेसवे पूरा गर्न ध्यान केन्द्रित गरिरहेको छ । गंगा एक्सप्रेसवेले पश्चिममा मेरठलाई पूर्वमा प्रयागराजसँग जोड्नेछ ।

यूपी एक्सप्रेसवे औद्योगिक विकास प्राधिकरणका सीईओ अवनीश अवस्थीले इकोनोमिक टाइम्सलाई भनेका छन् कि कूल ५९४ किलोमिटर लामो एक्सप्रेसवेले वातावरणीय स्वीकृति पनि पाएको छ । सरकारले यससँग सम्बन्धित अन्य कामलाई पनि तीव्रता दिनेछ ।

अवनीश अवस्थीले भने कि हामीले २०२५ को कुम्भ अघि मेरठदेखि प्रयागराजसम्म एक्सप्रेसवे बनाउने लक्ष्य राखेका छौं ।
गत वर्ष डिसेम्बरमा गंगा एक्सप्रेसवेको शिलान्यास गरिएको थियो । यो उत्तर प्रदेशको पाँचौं र सबैभन्दा लामो एक्सप्रेसवे हुनेछ, जसले मेरठलाई प्रयागराजसँग सीधा जोड्नेछ ।

यो एक्सप्रेसवे हापुर, बुलन्दशहर, अमरोहा, सम्भल, बदाऊन, शाहजहानपुर, हरदोई, उन्नाव, रायबरेली र प्रतापगढ हुँदै जानेछ ।

उत्तर प्रदेश सरकारले यस मार्गलाई २०२५ को कुम्भ मेला भन्दा अगाडि नै बनाउने लक्ष्य राखेको छ ताकी भक्तहरूलाई कुम्भमा भाग लिन सजिलो होस् भन्ने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु