भारुमा अन्तर्राष्ट्रिय व्यापार गर्ने निर्णयपछि पनि डलर मूल्य बढ्न रोकिएन, नेपाली मुद्रा इतिहासकै कमजोर



काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए । गत असार १४ गते एक अमेरिकी डलरको बिक्री मुल्य १२६ रुपैयाँ ०५ पैसा पुगेकोमा असार ३० गते एक अमेरिकी डलर बराबर १२८.१० रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । विश्व बजारमा २० वर्षपछि डलर र यूरोको मूल्य पनि बराबरी अवस्थामा आएको छ ।

भारत सरकारले भारतीय मुद्रामा अन्तर्राष्ट्रिय व्यापार गर्ने निर्णय गरे पनि डलरको मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । चीन, रसिया र भारतले अन्तर्राष्ट्रिय व्यापारको १५ प्रतिशत हिस्सा ओगट्ने र तीन देशबीचको व्यापारमा डलर प्रयोग नहुँदा विश्वबजारमा डलर सस्तो हुने अपेक्षा गरिएको थियो ।

तर लगातार डलरको माग बढ्ने र मूल्य बढ्ने क्रम जारी छ । संसारका कैयन देशमा आर्थिक संकट देखिन थालेपछि विभिन्न व्यक्तिले डलर सञ्चय गर्न थालेपछि विश्व बजारमा डलरको माग बढेको हो ।

यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन १ अमेरिकी डलर प्राप्त गर्न १२३ रुपैयाँ २८ पैसा खर्च गर्नु परेको थियो ।

नेपालमा विदेशी मुद्रासँगको विनिमय दर भारतीय मुद्रासँग ‘पेग’ गरेर निर्धारण गरिएकाले भारतको मुद्राको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली मुद्रासँगको सटही रेट तय हुन्छ ।

भारतको अर्थतन्त्र बलियो भएको अवस्थामा कम नेपाली रुपैयाँ खर्च गरेर डलर प्राप्त गर्न सकिन्छ भने भारतीय मुद्रा कमजोर बन्दा डलर प्राप्त गर्न बढी रुपैयाँ खर्च गर्नुपर्छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने छ ।

यस्तै नेपालमा आयात हुने सामानसँगै उद्योगको कच्चा पदार्थ पनि विभिन्न वस्तुको मूल्य बढ्ने सम्भावना पनि छ । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको नेपालमा डलर महँगो हुँदा व्यापार घाटा झनै बढ्नेछ ।


क्लिकमान्डु