अमेरिकामा ४० वर्षयताकै उच्च मूल्यवृद्धि, ‘मूल्यवृद्धिविरुद्धको लडाइ उच्च प्राथमिकतामा’- बाइडेन
काठमाडौं । अमेरिकामा ४० वर्षयता कै उच्च मूल्यवृद्धि भएको छ । अमेरिकाको ब्यूरो अफ लेवर स्टाटिस्टिकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ता मूल्य बढेर ९.१ प्रतिशत पुगेको छ ।
र, यो ४० वर्षयताकै सबैभन्दा उच्च मूल्यवृद्धि हो । गत मे महिनामा अमेरिकामा मूल्यवृद्धि ८.६ प्रतिशत पुगेको थियो ।
रिफिनिटिभका अनुसार यो मूल्यवृद्धि अर्थशास्त्रीहरुले प्रक्षेपण गरेको ८.८ प्रतिशतको मूल्यवृद्धिभन्दा बढी हो ।
जुन महिनामा प्रकाशित कन्जुमर प्राइस इन्डेक्सको तथ्यांक अनुसार उपभोक्ताले सेवा तथा वस्तुमा गर्ने खर्च १.३ प्रतिशतले बढेको छ । र, यो पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको असरका कारण भएको उल्लेख छ ।
तथ्यांक अनुसार सन् २०२२ मा मात्रै अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य ६० प्रतिशतसम्मले बढेको छ । अमेरिकामा पेट्रोलियम पदार्थमा गत महिना हालसम्मकै उच्च मूल्य कायम भएको थियो । जसमा प्रतिग्यालेन ५ डलरसम्म पुगेको थियो ।
पछिल्लो १२ महिनाको अवधिमा विद्युतको मूल्य १३.७ प्रतिशत र प्राकृतिक ग्यासको मूल्य ३८.४ प्रतिशतले बढेको थियो भने सन् २०२२ मा मात्रै उर्जाको मूल्य ४१.६ प्रतिशतले बढेको छ ।
मूल्यवृद्धिको असर सबै क्षेत्रमा देखिएको छ । खाद्यान्नमा १२.२ प्रतिशत, कुखुराको अण्डामा ३३.१ प्रतिशत, बटरमा २१.३ प्रतिशत, दुधमा १५.४ प्रतिशत, चिकनमा १८.६ प्रतिशत, कफीमा १५.८ प्रतिशत र सेल्टर खर्चमा ५.६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
मूल्यवृद्धिविरुद्धको लडाइ उच्च प्राथमिकतामा
अमेरिकी राष्ट्रपति जो वाइडेनले बुधबार भने उच्च मूल्यवृद्धिको तथ्यांक सही नभएको दाबी गरेका छन् ।
पछिल्लो ३० दिनमा ग्यास र कच्चा तेलको मूल्य घटेको तथ्यांक समावेश नभएको उनको भनाइ छ । हाल ग्यास तथा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा कम छ ।
साथै, उनले मूल्यवृद्धिलाई उच्च प्राथमिकतामा समेत राखिएको बताएका छन् ।
हाल अमेरिकामा एउटा परिवारलाई वस्तु तथा सेवा खरिदका लागि मासिक ४९३ डलर आवश्यक हुन्छ ।
उच्च मूल्यवृद्धि हुँदा पनि पारिश्रमिक भने बढेको छैन ।
बीएलएसले बुधबार प्रकाशित गरेको तथ्यांक अनुसार गत मेदेखि जुनसम्म प्रतिघण्टामा प्राप्त हुने तलब १ प्रतिशतले घटेको छ भने सन् २०२१ को जुन महिनाको तुलनामा सन् २०२२ को जुन महिनामा तलब ३.६ प्रतिशतले घटेको छ ।
चार्ल्स चेवाब स्क्यावमन कम्पनीका प्रबन्ध निर्देशक तथा चिफ फिक्स्ड इन्कम स्ट्राटेजिस्ट क्याथी जोनसले मूल्यवृद्धि अत्यधिक बढेकाले मानिसहरुको क्रयशक्ति घट्दै गएको बताएका छन् ।