पोखरामा हट एयर बलुन फेरि सञ्चालनमा आउँदै, प्रतिव्यक्ति ८ हजार शुल्क



पोखरा । यही सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ ।

कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रालि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यसअघि सन् २०१८ नोभेम्बर १६ देखि कम्पनीले पोखरामा हट एयर बलुनको उडान शुरु गरेको थियो ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान शुरु गरिनेछ ।

फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ ।

बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।

यो एड्भेन्चरका लागि नेपालीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रतिव्यक्ति १ सय डलर अर्थात् १२ हजार ६ सय रुपैयाँ लाग्ने कम्पनीको भनाइ छ ।

साथै प्रतिव्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ । बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ ।

२१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकैपटक यात्रा गर्न मिल्छ ।


क्लिकमान्डु