सेयर बजार सबैका लागि होइन, १० कित्ते नीति खारेज गरौं: अम्बिका पौडेल



काठमाडौं । ठूला लगानीकर्ताका रुपमा परिचित अम्बिकाप्रसाद पौडेलले सेयर बजार सबैका लागि नभएको भन्दै १० कित्ते नीति खारेज गर्न माग गरेका छन् ।

बुधबार चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)ले आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा उद्योग वाणिज्य महासंघका पुँजी बजार फोरमका सभापति समेत रहेका पौडेलले सेयर बजार सबैको लागि नभएको बताए ।

‘मैले १० कित्ता नीति खारेज गर्नुपर्ने र बजार जोखिम भएको हुँदा सबैका लागि होइन भनेपछि गाली खाने छु, बजारमा जोखिम भएको हुँदा आरक्षण दिएर मात्र बजारको विकास हुँदैन,’ पौडेलले भने ।

उनले पछिल्लो समय सरकारले वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउनेहरुको लागि समेत आइपीओमा आरक्षण दिन लागेको नीतिको समेत विरोध गरेका छन् ।

‘बजारमा जोखिम निकै ठूलो छ, पैसा समेत कमाइ हुन्छ, यसमा अध्ययन गरेर बुझेर लगानी गर्ने हो,’ पौडेलले भने ।

उनले सेयर बजारमा आरक्षण दिने नीति समेत ठीक नभएको बताए ।

नेपाली अर्थतन्त्र श्रीलंकाको जस्तै हुने भन्दै केही विश्लेषकले अनावश्यक रुपमा हल्ला चलाएको भन्दै उनले असन्तुष्टी व्यक्त समेत व्यक्त गरे ।

हाल बैंकिङ प्रणालीमा तरलता अभाव भएको र तरलता समस्या समाधान नगरिएको समेत बताए ।

उनले ब्याजदर बढाएर उपभोग नियन्त्रण हुन्छ भन्ने यूरोप र अमेरिकाको मान्यता नेपालमा नचल्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर तथा अर्थविदहरुले ब्याजदर बढाउन आवश्यक रहेको बताइरहेका बेलामा उनको यस्तो प्रतिक्रिया आएको हो ।


क्लिकमान्डु