तरलता अभाव भएको अवस्थामा लघुवित्तलाई गुणस्तर सुधार गर्ने अवसर: कार्यकारी निर्देशक श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले लघुवित्त वित्तीय संस्थाले गुणस्तर सुधार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

लघुवित्तका लगानीकर्ताहरूको साझा संगठन माइक्रो फाइनान्स एशोसियसन अफ नेपालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले लघुवित्तले गुणस्तर सुधार गर्नेतर्फ लाग्नुपर्ने बताए ।

तरलता अभाव भएको अवस्थामा लघुवित्तको गुणस्तर सुधार गर्ने अवसर पनि रहेको उनले बताए ।

लघुवित्त वित्तीय संस्थालाई सामाजिक व्यवसायको सट्टा नाफा कमाउने व्यवसायको रूपमा लिँदा समस्या उत्पन्न भएको उनले बताए ।

‘माइक्रो शब्द छ । माइक्रोमा नै बस्नुस् । म्याक्रो बन्न नखोज्नुस्’ कार्यकारी निर्देशक श्रेष्ठले भने,‘अहिलेको अवस्थामा गुणस्तर सुधार गर्नेतर्फ लाग्नुस् । अहिले भएको तरलता अभाव अवसर पनि हुन सक्छ । तपाईहरूले आफ्नो क्षमता विस्तार गर्न पाएनौ भन्ने चिन्ता व्यक्त गरिरहनु भएको छ ।’

माइक्रो फाइनान्स र कमर्सियल बैंकमा धेरै फरक रहेको उनले बताए ।

तरलता अभावको यो समयलाई लघुवित्त वित्तीय संस्थाले अवसरका रूपमा लिन सक्ने उनले बताए ।

बैंकिङ्ग प्रणालीमा तरलताको अभाव भएका कारण लघुवित्त वित्तीय संस्थामा पनि त्यसले असर गरेको उनले बताए ।

‘तरलता अभावको प्रभाव लघुवित्तमा पनि परेको छ । यहाँहरूले पनि तरलताको अभाव महशुस गर्नु भएको छ,’ उनले भने, ‘तरलताको अभाव पूर्ण बैंकिङ्ग क्षेत्रमा छ । बैंकिङ्ग प्रणाली कै स्रोत प्रयोग गर्ने हुनाले लघुवित्तमा पनि यसको प्रभाव परेको छ ।’

अहिले तरलता अभाव भएका कारण त्यही अनुसारले काम गर्नुपर्ने उनले बताए ।

‘अहिले तरलताको अभाव छ । त्यहि हिसावले अघि बढ्नु पर्यो । कराएर मात्रै तरलता आउँदैन । राष्ट्र बैंकले खनेर निकाल्ने भन्ने हुँदैन ।’ उनले भने ।

उनले लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूलाई ऋणको सदुपयोग गर्न सिकाउनु पर्ने बताए ।

पूर्वदेखि पश्चिम सम्म लघुवित्त विस्तार भएपनि ग्राहक र कर्मचारीलाई नियमन गर्न नसेको उनले बताए ।

‘गुणस्तर छैन । ग्राहकको प्रोटेक्सन छैन । नीति नियमलाई पालना गर्न सकेका छैनौ । त्यता तर्फ ध्यान दिनुस् ।’

लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्गका हिसाबले अगाडी बढाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा मान बहादुर विकले लघुवित्त क्षेत्रमा लघुवित्त कोषको स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । बजेटले व्यवस्था गरेको उक्त कोषलाई संचालन गर्नका लागि प्रभावकारी संरचना बनाउन आवश्यक रहेको बताए ।

उनले लघुवित्तको मोडालिटी परिवर्तन हुन नसकेको बताए ।

‘लघुवित्तको मोडालिटी परिवर्तन हुन सकेको छैन,’ उनले भने, ‘लघुवित्तलाई सोसियल बैंकिङ्गका रूपमा हेरिनुपर्छ।’
लघुवित्तलाई नाफाका नजरले मात्रै हेरिनु नहुने उनको भनाइ छ ।

नरहरी ढकालले लघुवित्तहरू ऋण दिन मात्रै केन्द्रित भएको बताए । अहिले लघुवित्त वित्तीय संस्थाहरूले ऋण दिनु मात्रै नभई दिईएको ऋणको कसरी सदुपयोग भएको छ, त्यसको पनि अध्ययन गर्नुपर्ने बताए । ‘ऋण दिन मात्रै होइन, ऋणको सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘तरलताको समस्या छ । दोहोरोपना ऋण लिन बन्द गरिनुपर्छ।’

निक्षेप परिचालन गरेर स्रोतको व्यवस्थापना गर्नुपर्ने उनको भनाइ छ ।

डा.भरतसिंह थापाले १५ प्रतिशतको क्याप हटाउनुपर्ने बताए । ‘दुनियाँमा कहि पनि यस्तो व्यवस्था छैन कि, लघुवित्तको ब्याजदर केन्द्रीय बैंकले तोकोस् । तर हाम्रोमा भइरहेको छ । समुदायमा आधारित लघुवित्तमा ब्याजदरको सिलिङ तोक्नु कत्तिको जायज हो ?’ उनले भने ।

बजारमा भएको तरलता अभावका कारण बैंकहरूबाट पाउने सापटी पर्याप्त मात्रामा लघुवित्तले पाउन नसकेको उनको भनाइ छ । सापटी पाएपनि सापटीको ब्याजदर १६ प्रतिशतसम्म रहेको उनले बताए ।


क्लिकमान्डु