कोरियाको आम्दानीः कुखुरापालनमा लगानी



काठमाडौं । सानै उमेरदेखि व्यावसायिक सोच बनाएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना देखेका उनले आर्थिक अभावका कारण सन् २०१३ मा कोरिया गए ।

इपिएस भाषा अध्ययन गरेर कोरिया गएका जिसीले कोरियाबाट फर्केर व्यावसायिक कुखुरापालन गर्दै आएका छन् । उनले ६ वर्ष कोरिया बसाइँ टुङ्ग््याएर नेपाल आएपछि ब्रोइलर कुखुरापालन गर्दै आएका हुन् ।

जिसीले चार वर्षदेखि व्यावसायिक रुपले कुखुरापालन गर्दै राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

‘व्यावसायिक सोच पहिल्यैको हो, आफ्नो जग्गा पनि थियो तर नेपालमा लगानी जुटाउनै समस्या थियो, त्यसबेला कोरियाका लागि भाषा परीक्षा पास गरेर गइयो’ उनले भने, ‘दुःख त कोरियामा धेरै नै हुन्छ तर कमाई पनि राम्रै हुन्छ, लगानी भएपछि आफ्नै बारीमा फर्म बनाएँ र ब्रोइलर जातका कुखुरापालन गरिरहेको छु ।’ जिसीको जेनिसा पोल्टी फर्ममा अहिले ८०० कुखुरा हुर्किरहेका छन् ।

उनले कोरियाबाट आउँदा कमाएको रकममध्ये १० लाख रुपैयाँको लागतमा फर्म स्थापना गरेका थिए । सुरुमा एक पटक कुखुरा हाल्दा १ लाखदेखि डेढलाखसम्म कमाइ हुने गरेकोमा अहिले दानाको मूल्य आकाशिएका कारण समस्या भएको र पहिलाजस्तो नाफा नभए पनि सन्तोषै लागेको जिसीले बताए ।

कुखुरा पालेपछि दाना खुवाएर गरेको दुःख उठेर घरखर्च चल्दै आएको उनले बताए ।

‘सुरुआतमा राम्रै कमाइ भएको हो । ४५ दिनमा कुखुरा तयार हुन्छन् एक/डेढ लाख कमाइ हुन्थ्यो, अहिले दानाको भाउ बढेका कारण समस्या त छ तर भाडा तिर्न परेन कुखुरा पालनलाई धेरै दुःख छैन,’ जिसीले भने, ‘अहिले पनि सन्तोषजनक आम्दानी छ, विदेश गएर ल्याएको पैसा खर्च गर्न परेको छैन, कुखुरापालनको आम्दानीले खान लाउन पुगेकै छ ।’

उनले आफ्नै आठ आना जग्गामा फर्म तयार गरेर कुखुरापालन गर्दै आएका छन् । नेपालीले केही समय विदेशमा कमाएको रकमलाई नेपालमा सदुपयोग गर्न नसके पुनः विदेश जाने समस्या दोहोरिने नियति बन्छ भन्दै उनले विदेशको कमाइ यही सदुपयोग गर्न पनि सुझाव दिए । कुखुरा पालनमा रोगको प्रकोप नभए राम्रो आम्दानी पनि गर्न सकिन्छ ।

कोरियामा गरेको दुःख सम्झदा नेपालमा नै केही गर्ने सोच पलाएर आउने गरेको जिसीको भनाइ थियो । उनले आफ्नो फर्मलाई विस्तारै बढाउँदै लैजाने योजना बनाए पनि दानाको मूल्यअनुसार कुखुराको मासुको मूल्य बढ्न नसकेको बताए । (रासस)


क्लिकमान्डु